काठमाडौँ- फिल्म ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राईकी श्रीमती बेनुका राईले गीत गाएकी छन्। फिल्ममा समावेश सिनेमाको कथा बोलको गीत बेनुकाले गाएको निर्माण टिमले जनाएको छ।
हर्क साउदको शब्द रहेको गीतमा मनोज थापा मगरले संगीत भरेका छन्। गीत केही दिनपछि सार्वजनिक गर्ने टिमको तयारी छ।
बेनुका स्वंय गायिका हुन्। पछिल्लो समय उनी गायनतर्फ निष्क्रिय थिइन्। पति दयाहाङ अभिनयमा व्यस्त भएपछि उनी घर व्यावहारतिर व्यस्त रहेकाेले गायनतिर सक्रिय हुन नसकेकाे उनले बताइन्।
यसअघि उनको ‘साइबा’, ‘आउ न ठूले फर्की आउ’, ‘जोगिया’लगायत गीत चर्चित छ।
‘मिरमिरे’मा अभिनेता राई मुख्य भूमिकामा छन्। फिल्ममा बुवा र छोरीको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको छ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्देृशक यम शेर्पा हुन्। अभिनेता राईसँगै फिल्ममा प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेललगायत कलाकारले अभिनय गरेका छन्।
फिल्ममा निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाले लगानी गरेका छन्। फिल्म आगामी माघ १ मा देशभर प्रदर्शन हुनेछ।




