खोटाङ : कोभिड-१९ अस्पताल रुपान्तरणपछि सेवाग्राही लाभान्वित

हिमाल प्रेस ५ माघ २०७९ १०:५५ | Thursday, January 19, 2023
खोटाङ : कोभिड-१९ अस्पताल रुपान्तरणपछि सेवाग्राही लाभान्वित

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिकामा सञ्चालित कोभिड-१९ अस्पताललाई रुपान्तरण गरेर निरन्तरता दिएपछि सेवाग्राही लाभान्वित भएका छन्।

कोरोना महामारीका बेला स्थापना गरिएको अस्थायी कोभिड–१९ अस्पताललाई पाँच शय्याको बनाएर निरन्तरता दिइएको थियो। गाउँपालिकाको केन्द्र कुभिन्डेस्थित हरमटारमा सञ्चालित अस्पताललाई रुपान्तरण गरेर चौबीसै घण्टा स्वास्थ्य सेवा उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठले जानकारी दिए।

‘अस्पतालमा आपतकालीन, ओपीडी, प्रसूति, भिडियो एक्स-रे, इसिजीलगायत सेवा चौबीसै घण्टा उपलब्ध गराउने गरिएको छ’, उनले भने। अस्पतालमा एक चिकित्सकसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दा अन्यत्र धाउनुपर्ने बाध्यताबाट मुक्त भएका छन्।

गाउँपालिकाको लगानीमा सञ्चालित सो अस्पतालमा गर्भवतीको भिडियो एक्स–रे र रगत जाँच निःशुल्क गरिनुका साथै ज्येष्ठ नागरिकलाई पनि भिडियो एक्स-रे सेवामा छुट दिइन्छ।

अस्पतालमा दैनिक २० जनाको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका प्रमुख डा मनोजकुमार साहले बताए। कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि २०७७ सालमा कर्मचारी आवास भवनलाई अस्थायी कोभिड–१९ अस्पतालका रुपमा स्थापना गरिएको थियो। कोरोना संक्रमण सामान्य भएसँगै अन्य कोभिड अस्पताल बन्द गरिए पनि रावाबेँसी गाउँपालिकाले भने अस्पतालमा रुपान्तरण गरेको हो।

हरमटारमा सञ्चालित अस्पतालबाट रावाबेँसीको सबै वडा तथा छिमेकी गाउँपालिका ऐसेलुखर्कका केही वडाका बासिन्दाले स्वास्थ्य सेवा लिइरहेका छन्। अस्पतालको फार्मेसीबाट अधिकतम औषधि निःशुल्क उपलब्ध गराउने गरिएको गाउँपालिकाले जनाएको छ।

अस्पतालका लागि आवश्यक पर्ने एक थान एक्सरे मेसिनसमेत ल्याएर आसपासका स्वास्थ्यचौकीबाट रेफर भएका बिरामीको उपचारलाई निरन्तरता दिने गरिएको छ। शल्यक्रिया गर्नुपर्ने जटिल किसिमका बिरामीलाई जिल्ला अस्पताल वा अन्यत्र रेफर गर्ने गरिएको डा साहले बताए।

डा साह, ल्याब टेक्नेसियन उमेशकुमार साह, नर्स सिर्जना तामाङ र कार्यालय सहयोगी सुरेन्द्र भुजेललाई गाउँपालिकाले आन्तरिक स्रोतबाट सेवा सुविधाको व्यवस्था गरेको छ। स्वास्थ्य सहायक भोजराज अधिकारी र अनमी बिनाकुमारी साहलाई काजमा खटाइएको छ।

रावाबेँसी-२ खार्पामा १५ शैय्याको अस्पताल बनिरहेको छ।

प्रकाशित: ५ माघ २०७९ १०:५५ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast