काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दर्ता गरेको दस्तावेजबारे महाधिवेशनको हलमा छलफल नहुने भएको छ।
पोखरेलले मंसिर २२ गते केन्द्रीय कार्यालय च्यासलमा छुट्टै दस्तावेज दर्ता गराएका थिए।
शुक्रबार बसेको सचिवालय बैठकले उक्त दस्तावेजबारे महाधिवेशनको हलमा छलफल नहुने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले सो दस्तावेजको विषयमा बोल्न चाहेको खण्डमा भने बोल्न दिने निर्णय भएको पनि ज्ञवालीले बताएका छन्।
संस्थापन इतर पक्षले उक्त दस्तावेज महाधिवेशनमा छलफल गराउने तयारी गरेका थिए।
एमाले महाधिवेशनमा ईश्वर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् भने अहिलेका अध्यक्ष केपी शर्मा ओली पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन्।
दस्तावेज दर्ज गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा पार्टीका तर्फबाट प्रस्तुत हुने दस्तावेजमा आफूहरूले अघि सारेका विषयहरू पनि समेटियोस् भनेर बुझाइएको बताएका थिए।



