अवध क्षेत्रको बाँकेमा मिथिलावासी

हिमाल प्रेस २६ मंसिर २०८२ १५:४६ | Friday, December 12, 2025
34
SHARES
अवध क्षेत्रको बाँकेमा मिथिलावासी

काठमाडौँ– लुम्बिनी प्रदेशको बाँके जिल्ला अवधवासीको बाहुल्य क्षेत्र मानिन्छ, तर यहाँ मिथिलावासीको पनि उल्लेख्य बसोबास छ भनेर धेरैलाई थाहा छैन।

हिजोआज होइन, नेपालगञ्ज आसपासका क्षेत्रमा एक सय ५० वर्षदेखि मिथिलावासीको बसोबास छ। आफ्ना संस्कृति र रहनसहनलाई संरक्षण गर्दै मिथिलावासी त्यहाँ बसोबास गर्दै आएका छन्।

यो संख्या निरन्तर बढ्दै गएको छ, जुन बेला बेला हुने मैथिल समुदायका विभिन्न सांस्कृतिक पर्वहरू देखिन्छ। यहाँ विभिन्न समाज पनि क्रियाशील छन्, तिनले आफ्ना संस्कृति संरक्षणका लागि पहल गर्दै आएका छन्। त्यसमध्येको एक हो, चित्रगुप्त सेवा समाज।

मैथलीको कायस्त समुदायभित्र चित्रगुप्तलाई विद्याको देउता मानेर मानिन्छ। बर्सेनि त्यसको पूजाआजा हुँदै आएको छ।

नेपालगञ्ज–८ निवासी पूर्वसहप्राध्यापक तथा मंगलप्रसाद महिला कलेजका प्रार्चाय रवीन्द्र कर्ण भन्छन्, ‘चित्रगुप्तलाई हामीले ‘कलम द्वात’ भनेर कलम र मसीको पूजा गर्छौँ, त्यो दिन लेख्ने पढने हुँदैन। तीस वर्षदेखि निरन्तर बागेश्वरी परिसरमा रहेको चित्रगुप्तको मन्दिरमा पूजा गर्दै आएका छौँ। चित्रगुप्त सेवा समाज गठन भएको चार वर्ष भएको छ।’

सहप्राध्यापक कर्णका अनुसार पहिले घर–घरमा पूजा हुने गथ्र्यो, पछिल्लो समय एक ठाउँमा भेला भएर पूजाआजा गर्ने गरिएको छ। काठमाडौँ र जनकपुर क्षेत्रमा चित्रगुप्तका ठूलाठूला मन्दिरसमेत छन्।

यसबाहेक छठ, जितिया, सामाचकेवा, फगुवा, दशहरा, दीपावलीलगायत पर्वको संरक्षण तथा सम्वर्द्धन गर्दै आइएको पूर्वसहप्राध्यापक कर्णले बताए।

मैथिली संस्कृतिमा उत्तिकै महत्वका साथ मनाइने सामचकेवा र जीतिया पर्व भने यहाँ घरमा मात्रै सीमित रहेको बताए। ‘वर्षौँ पहिले हजुरबुबा नेपालगञ्ज आएको र त्यतिबेलाको नेपालगञ्ज अहिले जस्तो थिएन। मेरो बुबा चन्द्रपतिलाल कर्ण महेन्द्र माध्यमिक विद्यालयका संस्थापक हुनुहुन्थ्यो। मेरो जन्म २०१५ सालमा यहीँ भयो। यहाँ मैथली समुदायभित्रका कर्णपरिवारका करिब ५० घर छन्। बाँकेमा खासगरी कर्ण, यादव, साह, दास, ठाकुर, मल्लिक, महतो, श्रीवास्तव, सक्सेनालगायतका सात सयभन्दा बढी घरपरिवार छन्,’ कर्णले भने।

शिक्षक वीरेन्द्र यादव नेपालगञ्जबाहेक कोहलपुर, खजुरा, राप्तीसोनारी र केही नरैनापुरमासमेत मैथिलीभाषिको बसोबास उल्लेख्य रहेको बताउँछन्। वर्षौँ पहिले शिक्षा, स्वास्थ्य, नापी, पशु स्वास्थ्य, शिक्षकलगायत कामका सिलसिलामा मैथलीभाषी यहाँ आएको र पछि यतै बस्न थालेको उनको भनाइ छ।

पूर्वी नेपालको बारा, सर्लाही, सिराहा, सप्तरी, धनुषाको जनकपुरधामलगायतका मैथलीभाषीको यहाँ उल्लेख्य बसोबास छ। नेपालगञ्जको वडा नं १५ स्थित बुलबुलियामा मैथिलीवासी धेरै रहेको शिक्षक यादव बताउँछन्।

प्रकाशित: २६ मंसिर २०८२ १५:४६ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast