काठमाडौँ- कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ छोरीसहित अमेरिका पुगेका छन्। उनीहरू छोरी सुबिहानीसहित ग्रिनकार्ड लिएर अमेरिका पुगेको बताएका छन्।
शुक्रबार धुर्मुसले सामाजिक सञ्जालमा लामो स्टाटस् लेख्दै आफूहरू छोरीको उपचारका लागि अमेरिका पुगेको खुलाएका छन्। नेपालमा कलाकारिता गर्न नसकेको र बाँच्नसक्ने कुनै आधार नभेटेर आफूले ग्रिनकार्डको लागि तीनवर्ष अघि आवेदन दिएको उनले बताएका छन्।
एक कार्यक्रममा धुर्मुस ग्रिनकार्डसहित अमेरिका गएको र नयाँ व्यावसाय सुरु गरेको भन्ने समाचार आएपछि उनीहरू भागेको भन्दै सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ। यसैक्रममा उनले आफूहरु छोरीको उपचार सकिएपछि नेपाल फर्किने र कलाकारितामै रम्न चाहेकोसमेत धारणा राखेका छन्।
उनले लेखेका छन्, ‘नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्नसक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै। यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि दिइने स्थायी बसोबास अनुमतिपत्र हो।’
त्यो कार्डमा अमेरिका पुगेपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि इन्सुरेन्स र मेडिकेडमार्फत निःशुल्क उपचार सुविधा हुने भएको आफूले उक्त बाटो अपनाएको उनले थप स्पष्ट पारेका छन्।
‘हामी भागेको होइन। छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन। छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं। तर, रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो। हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस्।’
उनले आफूले अमेरिकामा कुनै व्यावसायमा आफू नलागेको पनि प्रस्ट पारेका छन्। उनले त्यसलाई भ्रमको खेति भएको र हल्लाको पछि नलाग्न अनुरोध गरेका छन्।
उनले २०७२ सालमा भूकम्पपीडितका लागि घर बनाएकाे देखि रंगशाला निर्माण सम्मका गतिविधिबारे पनि बकपत्र भन्दै सम्पूर्ण विवरण उल्लेख गरेका छन्।



