एमालेको प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा

हिमाल प्रेस २३ मंसिर २०८२ ७:५६
6
SHARES
एमालेको प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा

काठमाडौँ- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधिहरूको विवरण अद्यावधिक गर्ने कार्यमा निरन्तर जुटेका छन्।

विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउने मध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताए। १०८ जना केन्द्रबाट प्रतिनिधि मनोनीत हुने छन्। मनोनीतसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए। तत्कालीन नेकपा एकीकृत समाजवादीबाट ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरूको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ।

अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भइसकेको छ। ती जिल्लाहरूमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड पुर्‍याएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो। जस अनुसार दुवै जिल्लाबाट सर्वसहमत रूपमा प्रतिनिधि छनौट भएर आएका छन्। त्यस बाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनौटका विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताए।

प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानबिन भइरहेको उनले बताए। संगठन विभागले मापदण्ड नपुगेका कुनै पनि प्रतिनिधिको कार्ड नबनाउने तयारी गरेको छ। ‘हामीले ७० प्रतिशत भन्दा बढी प्रतिनिधिहरूको भेरिफिकेसन गरिसक्यौँ’ अधिकारीले भने ।

एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधि बाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रूपमा प्रवेश गर्दैछन् । उनीहरू सल्लाहकार परिषद्का सदस्यहरू हुन्। सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन्। प्रतिनिधि हुन नसकेकाहरूलाई महाधिवेशनमा सहभागीका रूपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको हो। प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन्।

विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरूको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ। हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ। आगामी २५ गतेभित्र सम्पूर्ण प्रतिनिधि र कार्ड छपाइको काम सकिने केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित: २३ मंसिर २०८२ ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast