इटहरी- सुनसरीको रामधुनी नगरपालिका-२ का ४५ वर्षीय सिटी सफारी चालक दिनेशकुमार चौधरीको गोली हानी हत्या गरिएको घटनामा संलग्नलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ।
गत असोज २५ गते बेलुकी ५ः२० बजेतिर रामधुनी-२ कर्मनिया टोलस्थित भित्री सडकमा अपरिचित व्यक्तिहरूले गोली प्रहार गरी हत्या गरेको घटनामा ‘आपसी द्वेष र अन्धविश्वासले जन्माएको संगठित अपराध’ भएको प्रहरीको निष्कर्ष छ।
पक्राउ पर्नेहरूमा रामधुनी नगरपालिका-१ का ४३ वर्षीय राजेश भन्ने राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, भोक्राहा नरसिंह गाउँपालिका-५ का ३४ वर्षीय मोहमद इब्रान मिया, देवानगन्ज गाउँपालिका-४ का ३७ वर्षीय गियास मन्सुरी, देवानगन्ज-५ का २५ वर्षीय मिथलेश यादव, सप्तरी राजविराज नगरपालिका-१६ का २८ वर्षीय अंकित साह र राजविराज-९ का २८ वर्षीय प्रिन्स कुमार दास रहेका छन्।
प्रदेश १-०२-००४ ह ७८०४ नम्बरको सिटी सफारी चालक चौधरीको हत्यापश्चात संलग्नहरू फरार थिए। प्रहरीले सूक्ष्म अनुसन्धान गरी घटनाको पहिचान गरेको हो।
प्रारम्भिक अनुसन्धानले परिवारभित्रै महिनौँदेखि चलिरहेको तनाव, तन्त्रमन्त्रको डर र स्थानीयस्तरमा बढ्दै आएको अन्धविश्वासकै आडमा योजनाबद्ध हत्या गरिएको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबेका अनुसार चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएको कारण योजनाबद्ध रूपमा हत्या गरिएको उनीहरूले बयान दिएका छन्।
खासगरी रामधुनी–१ का राजेश उर्फ राजकिशोर साह र नन्द किशोर साहले योजनाबद्ध रूपमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘चौधरीले तन्त्रमन्त्र गरी लामो समयदेखि परिवारका सदस्यहरूलाई बिरामी बनाई दुःख, हैरानी दिएको कारण राजकिशोर साह र नन्द किशोर साह समेतले योजना बनाएृर मोहमद इब्रान मिया लगायतका व्यक्तिहरूसँग रकम लेनदेन गरी दिनेशकुमार चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ,’ एसपी थेबेले भने, ‘घटनामा संलग्न रहेका उनीहरूमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा १२ दिनको म्याद थप गरी आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको छ।’
सातै जनाले घटनामा संलग्नता स्वीकार गरेको थेबेले बताए।



