फाइल तस्बिर : एफपी
काठमाडौँ- पाकिस्तान र अफगानिस्तानबीच सीमा क्षेत्रमा फेरि झडप भएको छ। पाकिस्तानी सुरक्षाबल र अफगानिस्तानका तालिबान फोर्सेसबीच सीमा क्षेत्रमा झडप भएको हो।
दुवैले एकअर्कामाथि संघर्ष–विराम तोडेको आरोप लगाएका छन्।
बढ्दो तनावका कारण सीमानजिकैको अफगान सहर स्पिन बोल्दका बासिन्दाहरूलाई रातारात घर छोड्नुपरेको छ।
कन्धार सहरका एक मेडिकल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार स्थानी अस्पतालमा चार जना व्यक्तिका शवहरू ल्याइएका छन्। पाकिस्तानतर्फ हताहात भए नभएको स्पष्ट भएको छैन।
पछिल्ला केही महिनायता दुवै देशबीच पटक–पटक लडाइँहरू भएका छन्। यसैबीच अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानमाथि देशको भित्री भाग हवाई आक्रमण गरेको आरोप पनि लगाएको छ।
दुवै पक्षले रातभर गोलीबारी भएको पुष्टि गरेका छन्। तर करिब चार घन्टा चलेको यस संघर्षको सुरूवातको जिम्मेवारी कसैले पनि लिएका छैनन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका प्रवक्ता मुशर्रफ जैदीले तालिबानले विनाकारण गोलीबारी सुरू गरेको आरोप लगाएका छन्।
‘हाम्रो सशस्त्र बलले तुरुन्तै प्रभावकारी र कडा प्रतिक्रिया दिएको छ। पाकिस्तान आफ्नो सीमाको अखण्डता र आफ्ना नागरिकको सुरक्षाका लागि पूर्ण रुपमा सतर्क र प्रतिबद्ध छ,’ उनले भनेका छन्।
उता तालिबानका एक प्रवक्ताले भने पाकिस्तानले फेरि एकपटक आक्रमण सुरू गरेको र आफूहरूलाइ जवाफ दिन बाध्य बनाएको बताएका छन्।
संघर्ष–विरामको सम्झौता भएको दुई महिना नबित्दै गएराति दुवैपक्षबीच झडप भएको हो।



