काठमाडौँ– नेकपा एमालेको यही मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु भएको छ।
महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बिहीबार निरीक्षण गरेको छ।
उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरुले कार्यक्रमस्थलको अनुगमन गरेका हुन्।
उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब दुई लाख अट्न सक्ने क्षमता रहेको बताउँदै उक्त चौर भरिभराउ हुने बताए। उनले महाधिवेशनका सबै तयारीहरू उत्साहजनक रूपमा अगाडि बढिरहेको जानकारी दिए।
महाधिवेशनमा करिब दुई हजार ५०० बढी प्रतिनिधि सहभागी हुने छन्। उद्घाटन सत्रमा देशभरबाट एक लाख ५० हजार बढी कार्यकर्ता सहभागी हुने अनुमान गरिएको छ।
प्रचार विभाग प्रमुख गौतमले मञ्चलगायतका संरचनाहरु कसरी बनाउने भन्ने तयारी स्वरुप आजको निरीक्षण गरिएको बताए।
उनले मञ्च निर्माणदेखि नै करिब ६०० स्वयंसेवक पोसाकमा खटिने जनाइएको छ। पार्टी जिल्लाका उपाध्यक्ष किरण थापाले डोजर लगाएर कार्यक्रमस्थल तयारी सुरु गरेको जानकारी दिए।
यसैबीच नेकपा एमालेले महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरेको छ।
अध्यक्षसहित अन्य पदहरूमा समेत एकभन्दा बढी नेताहरूले दाबी गर्न थालेपछि महाधिवेशनमा एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरेको हो। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए।
एमालेले यसअघि चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो।
‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘टेण्डर आव्हान भइसकेको छ। चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ।’
महाधिवेशनले यसपटक एमालेमा १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ। गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी संख्या घटाएको थियो। एमाले महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन्।



