सुर्खेत- अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा कर्णाली र सुदूरपश्चिम प्रदेशबीच मैत्रीपूर्ण ह्वीलचेयर बास्केटबल खेल भएको छ।
दिवसको अवसरमा आयोजित स्पाइनल इन्जुरी युनियन, सेभ द चिल्ड्रेन र भिजन ३६० को सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीहरूबीच मैत्रीपूर्ण ह्वीलचेयर बास्केटबल खेल भएको हो। उक्त खेलमा कर्णाली प्रदेशको तर्फबाट स्पाइनल इन्जुरी युनियन र सुदूरपश्चिम प्रदेशको तर्फबाट एपी इन्क्लुसिभ पारा एथलेटिक्स स्पोर्ट्स क्लब सहभागी भएका थिए।
‘यस ह्वीलचेयर बास्केटबल खेलमार्फत अपाङ्गता भएका व्यक्तिहरू आत्मविश्वासी, सक्षम र सम्मानजनक तथा सक्रिय जीवन जिउन पूर्ण रूपमा सक्षम छन् भन्ने सन्देश दिनका लागि खेलको आयोजना गरेको आयोजकले जानकारी दिए। अपागतालाई आवश्यक पर्ने कुरा भनेको समावेशी र लान्छना मुक्त समाज निर्माणका लागि समुदाय र सरकारको अझ बलियो समर्थन र सहकार्य हो,’ स्पाइनल इन्जुरी युनियनका संयोजक दिव्या खड्काले भनिन्।
सेभ द चिल्ड्रेनका पैरवी र सञ्चार निर्देशक आयुष जोशीले खेल र खेलाडी तथा सहभागीबीचका अन्तरक्रियाले अपांगता भएका व्यक्तिहरूप्रतिको ज्ञान, दृष्टिकोण र व्यवहारमा सकारात्मक परिवर्तन ल्याएको बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्णाली प्रदेश सरकारको तर्फबाट अपांगता भएका व्यक्तिहरूले समावेशी सेवाहरूमा पहुँच पाउन सक्ने वातावरण निर्माणमा पूर्ण प्रतिबद्धता जनाए। मन्त्री भण्डारीले चेतनामूलक गतिविधि प्रवर्द्धन गर्न र अपांगता अधिकारलाई अगाडि बढाउन निरन्तर काम गर्दै जाने बताए।



