जनकपुरधाम- मधेश प्रदेशमा मुख्यमन्त्री सरोज यादवले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको तयारी थालिएको छ। सात दल सम्मिलित गठबन्धनले आन्तरिक तहमा सरकार बनाउने तयारी अघि बढाए पनि प्रदेश प्रमुखबाट औपचारिक आह्वानको प्रतीक्षा गरिरहेका छन्।
सात दलीय गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय प्रमुख बहसको केन्द्र बनेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले गठबन्धनभित्र सबैभन्दा ठूलो दलका रूपमा कांग्रेसले नेतृत्व पाउनुपर्ने स्पष्ट धारणा राखेका छन्। उनका अनुसार कांग्रेसले अझैसम्म मधेश प्रदेशमा सरकार सञ्चालन गर्ने अवसर नपाएकोले यसपटक नेतृत्व कांग्रेसको हुनुपर्ने उनको भनाइ छ। तर उनले अन्तिम निर्णय भने गठबन्धनको सर्वसम्मत प्रक्रियाबाट नै हुने बताए।
यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता जयनुल राइनले पहिलेदेखिको सहमतिअनुसार मधेशमा मधेशीकै नेतृत्व हुनुपर्ने दाबी दोहोर्याएका छन्। उनको भनाइमा विगतमा सबै दलको साथ नपाउँदा लोसपाले नेतृत्व गुमाउनु परेको थियो। मधेशको हित र राजनीतिक प्रतिबद्धताअनुसार यसपटक सरकारको नेतृत्व लोसपाले पाउनुपर्ने र पार्टी सबैभन्दा उपयुक्त अवस्थामा रहेको उनको तर्क छ।
गठबन्धनका अन्य दल जसपा, नेकपा (एस), जनमत र माओवादी केन्द्र भने सहमतिको आधारमा सर्वदलीय सरकार बन्नुपर्ने पक्षमा उभिएका छन्। माओवादी केन्द्रका नेता भरत शाह, जनमत पार्टीका नेता महेश यादव र जसपा प्रमुख सचेतक रामआशिष यादवले मधेश प्रदेशको स्थिरता, सुशासन र विकासलाई प्राथमिकता दिँदै दलगत विवादमा नअल्झिन सर्वदलीय सहमतिमै नेतृत्व चयन गर्नुपर्ने बताएका छन्।
गठबन्धन स्रोतका अनुसार पछिल्ला दिनमा दलहरूबीच पटकपटक अनौपचारिक छलफल भइरहेको छ। तर औपचारिक वार्ता भने प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेपछि मात्र सुरु हुने बताइएको छ।
आह्वान भएको दिननै गठबन्धन दलहरू बसेर भागवण्डा, मन्त्री छनौट र नेतृत्वबारे अन्तिम टुंगो लगाउने तयारी छ। मुख्यमन्त्री सरोज यादवको राजीनामापछि मधेश प्रदेश फेरि नयाँ राजनीतिक मोडमा पुगेको छ।
गठबन्धनभित्र नेतृत्व दाबी र सहमतिका प्रयासले नयाँ शक्ति सन्तुलनको संकेत गर्दैछ। अब प्रदेश प्रमुखको कदमपछि मात्र मधेश प्रदेशको नयाँ राजनीतिक दिशा स्पष्ट हुने देखिन्छ।



