धाविका सन्तोषी भ्यालेन्सिया प्रस्थान

हिमाल प्रेस १७ मंसिर २०८२ १५:२२
12
SHARES
धाविका सन्तोषी भ्यालेन्सिया प्रस्थान

काठमाडौँ- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छन्। स्पेनको भ्यालेन्सियामा यही ७ डिसेम्बर आइतबार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ।

सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वर्ल्ड एथ्लेटिक्सबाट प्लेटिनम लेबलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो। संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकहरूको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्दछ।

धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई छनोट गरिएको हो। नेपाल रन यूकेले सन्तोषीको सहभागिताका लागि सम्पूर्ण व्यवस्थापन गर्नेछ। सन्तोषीसँगै नेपाल रन यूकेका संस्थापक तथा प्रशिक्षक सन्तोष राई पनि भ्यालेन्सिया प्रस्थान गरेका छन्।

प्रशिक्षक राई सहित नेपाल रन यूकेका अन्य सदस्यहरु पनि भ्यालेन्सिया म्याराथनमा भाग लिनेछन्। उनीहरू बेलायतबाटै भ्यालेन्सिया पुग्ने प्रशिक्षक राईले बताए।

भ्यालेन्सिया जाने दुई सदस्यीय टोलीलाई धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे। संस्थापक ठकुरी स्वयं पनि भियतनामको होचिमिन्हमा डिसेम्बर ४ र ५ मा हुने मास पार्टिसिपेसन वर्ल्ड कन्फ्रेन्समा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन्।

भ्यालेन्सिया प्रस्थान गर्नुपूर्व नेपाल रन यूकेका संस्थापक राईले नेपालगन्ज म्याराथनको कोर्ष भ्यालेन्सिया भन्दा पनि सहज भएको बताउँदै व्यापक प्रचारप्रसारमा जोड दिन एम्सका सद्भावना दूत समेत रहेका संस्थापक ठकुरीलाई सुझाव दिए।

भ्यालेन्सिया सहज कोर्षका कारण विश्वभरिका धावकहरूले आफ्नो व्यक्तिगत समय राम्रो निकाल्नका लागि पहिलो छनोटमा राख्ने गर्दछन्। नेपालमा पनि शीर्ष धावकहरूका लागि धारा नेपालगन्ज म्याराथनको कोर्ष निकै सहज मानिन्छ।

यस वर्ष खडकबहादुर खड्काले २ घण्टा १५ मिनेट ६ सेकेन्डको समय निकाल्दै विजेता बने। उनी वैकुण्ठ मानन्धरको दक्षिण एशियाली रेकर्डमा पाँच सेकेन्डले मात्र चुके। खडकलाई समेत लन्डन म्याराथन लगायत वर्ल्ड मेजर म्याराथनमा सहभागिताको पहल गरिने नेपाल रन यूकेका संस्थापक राईले बताए।

यसअघि नेपाल रन यूकेले गोपीचन्द्र पार्की र सन्तोषीलाई सात वर्ल्ड मेजर म्याराथन मध्येको लन्डन म्याराथनमा सहभागिताको अवसर प्रदान गरेको थियो। नेपाल रन यूकेले नेपालका शीर्ष खेलाडीका लागि अवसर प्रदान गर्नुका साथै खेलाडी उत्पादनका लागि मिरा राई इनिसियटिभ र विश्व कीर्तिमानी धावक हरि रोकायको जुम्लास्थित प्रशिक्षण केन्द्रका लागि पनि काम गरिरहेको छ।

प्रकाशित: १७ मंसिर २०८२ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast