मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

हिमाल प्रेस १६ मंसिर २०८२ १८:३७
8
SHARES
मधेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले भोलि (बुधबार) दिउँसो २ बजे विश्वासको मत लिने भएका छन्। मंगलबार दिनभरि कानुनी परामर्शपछि पत्रकार सम्मेलन गर्दै आफूले दिउँसो ३ बजे सर्वोच्च अदालतको परमादेशपत्र पाएको आधारमा बुधबार २ बजेसम्म विश्वासको मत लिने जानकारी दिएका हुन्।

सञ्चारकर्मीहरूको जिज्ञासामा उनले भने, ‘सर्वोच्चको परमादेशअनुसार आज बेलुकासम्मको समयावधि हो। तर कानुनतः प्रतिवादीले पत्र पाएको समयदेखि गणना हुने भएकाले मैले आज ३ बजेतिर जानकारी पाएको कारण आजदेखि गणना हुन्छ।’ उनले विगतमा सहयाेग गरेका दलहरूसँग छलफल भएकाले विश्वासको मत पाउनेमा ढुक्क रहेको दाबी गरे। यता नयाँ सरकार गठनका लागि भने लोसपा, कांग्रेस, जसपालगायतका सात दल छलफलमा जुटिसकेका छन्।

सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। मुख्यमन्त्री यादवले विश्वासको मत पाए मुख्यमन्त्रीमा निरन्तर रहनेछन्। यदि उनले विश्वासको मत नपाएमा अर्को विकल्प १६८ (२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प अपनाउन मधेश प्रदेश प्रमुख र विपक्षीहरूका नाममा सर्वोच्चले परमादेश जारी गरेको छ।

मधेश प्रदेशसभाका ७४ सांसदहरू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्चमा रिट हालेका थिए। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते बिहान ४ बजे मुख्यमन्त्री यादवलाई बर्दिवासको एक होटलमा शपथ दिलाएकी थिइन्।

भण्डारीले संविधानको धारा १६८ (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशसभाका एमालेबाहेकका सबै दल विरोधमा उत्रिएका थिए।

प्रकाशित: १६ मंसिर २०८२ १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast