पाकिस्तानी राजदूतावासद्वारा भरतपुर आँखा अस्पताललाई सहयोग

हिमाल प्रेस १६ मंसिर २०८२ १४:५४ | Tuesday, December 2, 2025
14
SHARES
पाकिस्तानी राजदूतावासद्वारा भरतपुर आँखा अस्पताललाई सहयोग

चितवन- नेपालका लागि पाकिस्तानी राजदूतावासले नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ। राजदूत अब्रार एच हासमीले आज एक कार्यक्रमकाबीच अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई भरतपुर आँखा अस्पतालको कागजरहित प्रविधिको विकासका लागि रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन्।

सो अवसरमा राजदूत हासमीले स्वास्थ्य सेवा सबैका लागि सहज र पहुँचयोग्य हुनुपर्ने बताउँदै अस्पतालले विभिन्न गाउँबस्तीमा पुगेर सेवा प्रदान गरेकोप्रति प्रशंसा व्यक्त गरे। राजदूत हासमीले निरन्तर प्राप्त हुँदै आएको सहयोगले अस्पताललाई आधुनिक, दक्ष आधुनिक प्रविधितर्फ अघि बढ्न थप मद्दत गर्ने विश्वास व्यक्त गरे।

विगतमा झै आगामी दिनमा पनि आँखा उपचारमा पाकिस्तान सरकारका तर्फबाट नियमित सहयोग आदान प्रदान हुने उनले बताए। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले स्थापना कालदेखिनै अस्पताललाई पाकिस्तान सरकारले निरन्तर सहयोग गर्दै आएको बताए।

२०४४ सालमा अस्पताल भवन निर्माण पाकिस्तानी सरकारका तर्फबाट गरिएको थियो। यस्तै रु ३० लाख वरावरको फेको मेसीन, रु ४० लाख बराबरको फार्मेसी तथा अप्टिकल डिस्पेन्सर भवन, नयाँ भवनमा मोडुलर शल्यक्रिया लगायतमा रु दुई करोड बराबरको पाकिस्तानी सरकारले सहयोग गरेको थियो।

त्यसैगरी रु ६६ लाखमा पिकअप भ्यानसमेत खरिद गरिदिएको श्रेष्ठले बताए। सो अवसरमा राजदूताबासका हेड अफ चान्सरी मोहम्मद जाकिर खान र प्रोटोकल अफिसर प्रभाकर दाहालको उपस्थिति रहेको थियो।

प्रकाशित: १६ मंसिर २०८२ १४:५४ | Tuesday, December 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast