फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसमा महिनामा हुने भएको छ।
सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि २८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो।
बैठकपछि कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिए। उनले पुस २७ देखि २८ गतेसम्म महाधिवेशन गर्ने पेस भएको प्रस्ताव केन्द्रीय समिति बैठकले सर्वसम्मतिबाट अनुमोदन गरेको बताए।
मंसिर २० गतेभित्र नयाँ क्रियाशील सदस्य वितरण गर्नेगरी कार्यतालिका ल्याइएको उनले बताए।
त्यस्तै जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने समय मंसिर २४ गते तोकिएको छ। पुस ८ गतेभित्र सबै निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्न समय दिइएको छ।
क्रियाशील सदस्यतामाथि परेको उजुरीउपर छानबिन गरी पुस १४ गते केन्द्रीय सभापतिलाई बुझाउने, नयाँ सदस्यता वितरण गर्दा समावेशिता, नयाँ पुस्ता, पार्टी प्रवेश गरेकाहरूलाई पनि क्रियाशील सदस्यता दिने निर्णय कांग्रेसले गरेको छ।
गाउँ, नगर र वडा अधिवेशन पुस १६ गते, गाउँ, नगर र पालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते, सातै प्रदेशको प्रदेश अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय भएको महतले बताए।
प्रवक्ता महतले नियमित महाधिवेशन गर्ने निर्णय भएसँगै केन्द्रीय समितिमा पेस भएको विशेष अधिवेशनको प्रस्ताव स्वतः निष्क्रिय भएको जानकारी दिए। बैठकले वर्तमान कार्यसमितिको म्याद माघ मसान्तसम्म थप्ने निर्णयसमेत गरेको छ।



