काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय भेला आयोजक समिति संयोजक प्रा.डा. शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनसहित सम्पूर्ण सांगठनिक तथा नीतिगत निर्णय तत्कालका लागि रोक्न आग्रह गरेका छन्।
कोइरालाले पार्टी केन्द्रीय कार्यसमितिलाई पत्र पठाउँदै अदालतबाट मुद्दाको अन्तिम फैसला नआएसम्म कुनै पनि दूरगामी निर्णय नगर्न आग्रह गरेका हुन्। कांग्रेसको वैधानिकता र नेतृत्वसम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा प्रदान गरेको कोइरालाको पत्रमा उल्लेख छ।
कोइरालाले साउन २२ गते सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि भएको फैसलाविरुद्ध परेको पुनरवलोकन निवेदनमा मुद्दा दोहोर्याएर हेर्ने अनुमति अर्थात् निस्सा प्रदान गरेको उल्लेख गरेका छन्।
उनका अनुसार निस्सा प्रदान भएपछि कांग्रेसको वैधानिकता र तत्कालीन नेतृत्वको कानुनी हैसियतसम्बन्धी विषय पुनः न्यायिक पुनरवलोकनको अवस्थामा पुगेको छ। त्यसैले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पार्टीका सांगठनिक गतिविधि र निर्णयहरू अघि बढाउँदा थप कानुनी जटिलता उत्पन्न हुन सक्ने कोइरालाको दाबी छ।
कोइरालाले कांग्रेसको आगामी १५औँ महाधिवेशन वा विशेष महाधिवेशनसँग सम्बन्धित कुनै पनि सांगठनिक, प्राविधिक तथा नीतिगत कार्यतालिका तत्काल स्थगित गर्न आग्रह गरेका छन्।
पत्रमा उनले सर्वोच्च अदालतको पूर्ण इजलासबाट मुद्दाको अन्तिम फैसला नभएसम्म पार्टीका सम्पूर्ण सांगठनिक संरचनालाई साविककै अवस्थामा राख्दै अदालतको गरिमा र कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्ने उल्लेख गरेका छन्।
‘कानुनी राज्यको सिद्धान्तबमोजिम अदालतमा विचाराधीन मुद्दाको अन्तिम परिणामलाई असर पर्ने गरी कुनै पनि गतिविधि अगाडि नबढाउन’ ध्यानाकर्षण गराउँदै कोइरालाले त्यसविपरीत गतिविधि भए अदालतको अवहेलना वा अन्य कानुनी प्रतिकूलता सिर्जना हुन सक्ने चेतावनीसमेत दिएका छन्।
उनले उक्त पत्रको बोधार्थ कांग्रेसका सभापति गगनकुमार थापालाई समेत पठाएका छन्। यद्यपि पत्रमा थापालाई तत्कालीन महामन्त्री भनिएको छ। यसैगरी प्रदेश, जिल्ला, क्षेत्रीय तथा पालिका तहका पार्टी संरचनासहित निर्वाचन आयोगलाई पनि बोधार्थ पठाइएको छ।
कांग्रेसको केन्द्रीय समिति बैठक केही दिनदेखि जारी छ। असोज १६ देखि १५ औँ महाधिवेशन हुने र तल्ला तहका अधिवेशन कार्यतालिका केही केन्द्रीय समितिबाट हेरफेर हुन सक्ने सभापति थापाको भनाइ छ। नेपाली कांग्रेसको संस्थापनइतर पक्षद्वारा डाकिएको राष्ट्रिय भेला आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुँदै छ।


