काठमाडौँ- बुद्धको जन्मस्थल लुम्बिनीमा यही मंसिर २४, २५ र २६ गते हुने तेस्रो ‘विश्व शान्ति कार्यक्रम’ हुँदैछ। कार्यक्रममा सहभागी हुन विभिन्न देशका २५ अर्बपति लुम्बिनीमा आउने भएका छन्। अर्बपतिहरू पहिलोपटक सहभागी हुन लागेको कार्यक्रमकी मिडिया संयोजक सुलोचना खतिवडाले जानकारी दिइन्।
उनका अनुसार कार्यक्रममा भारत केरलास्थित सिगल इन्टरनेसनल ग्रुपका अध्यक्ष डाक्टर सुरेशकुमार मधुसुधान, स्वतन्त्र स्लोभेनियाका प्रथम प्रधानमन्त्री तथा युरोपेली संसदका पूर्व सदस्य लोज्जे पिटरले, इथियोपियाका पूर्व प्रधानमन्त्री ताम्रत लेन, युएई र भारतमा व्यापार गर्दै आएका इराम होल्डिङ्सका डाक्टर सिद्दिक अहमदलगायतका व्यक्तिहरू सहभागी हुनेछन्।
साथै नेपाल तथा विदेशका नेता, विद्वान, संयुक्त राष्ट्र संघका सांस्कृतिक राजदूतहरू, अन्तर्राष्ट्रिय व्यापारमा नाम कमाएको व्यवसायी, कलाकार, युवा र सामुदायिक प्रतिनिधिहरू, लुम्बिनी चिनियाँ व्यापारी प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहनेछ। कार्यक्रममा १० हजारभन्दा बढीको सहभागिता रहने आयोजकको आँकलन छ।
विश्व शान्ति कार्यक्रमले नै आयोजना गरेको कार्यक्रम तीन दिन चल्नेछ। कार्यक्रम संयोजक शेखर गौतम अनुसार कार्यक्रममा शान्ति, जलवायु परिवर्तन, विकास, आन्तरिक कल्याण र सामाजिक न्याय, व्यावहारिक शान्ति निर्माण, दैनिक नेतृत्व र स्थानीय शासनमा केन्द्रित युवा, महिला, आदिवासी समुदाय र सीमान्तकृत आवाजहरूलाई थप शान्तिपूर्ण र समृद्ध भविष्यका लागि जस्ता विषयमाथि छलफल तथा बहस हुनेछ। साथै, सांस्कृतिक प्रदर्शनी, संगीत र कलात्मक अभिव्यक्तिका सत्रहरु पनि हुनेछन्।



