संज्ञान विमर्शमा ‘फिर्दोसको साँचो’ माथि अन्तरसंवाद

हिमाल प्रेस १४ मंसिर २०८२ १०:५७ | Sunday, November 30, 2025
20
SHARES
संज्ञान विमर्शमा ‘फिर्दोसको साँचो’ माथि अन्तरसंवाद

काठमाडौँ– पाटन संयुक्त क्याम्पस, नेपाली विभागले सञ्चालन गर्दै आएको ‘संज्ञान विमर्श’ शुक्रबार कथाकार राजबाबु श्रेष्ठ ‘सागर’ को सद्य प्रकाशित कथाकृति ‘फिर्दोसको साँचो’ माथि अन्तरसंवाद गरिएको छ।

विभागकी उपप्रा. डा. शोभा ढुंगानाले श्रेष्ठको कृतिमाथि समालोचकीय टिप्पणी प्रस्तुत गरिन्। उनले कथाहरू आध्यात्मिक जीवनदर्शनमा आधारित भएको बताइन्। कथामा वर्गीय जटिलता अभिव्यक्त भएको सन्दर्भ प्रस्तुत गर्दै ढुंगानाले कथाकारको प्रस्तुति शिष्ट बन्न सके आगामी यात्रा अझै समृद्ध बन्न सक्ने विचार व्यक्त गरेकी थिइन्।

उपप्रा. विष्णु ज्ञवालीले अन्य साहित्यकारबाट नछोइएको विषय श्रेष्ठले कथामा उठान गरेको धारणा राखे। विषयवस्तुका हिसाबले कृतिका कथाको केन्द्रीय विषय मान्छे बनेको उनको भनाइ थियो। ज्ञवालीले प्रयोगशीलता कथाकार श्रेष्ठको विशेषता बनी प्रकट भएको बताए।

उपप्रा. डा. जीवन श्रेष्ठले नेपाली कथालेखनयात्रामा श्रेष्ठको स्थान निर्धारण गर्नु समालोचकको कर्तव्य भएको बताए। उपप्रा. डा. महानन्द जोशीले कथाको सैद्धान्तिक धरातल समाती अघि बढ्न सके कथाकारको कथाशिल्प बलियो बन्ने सुझाव दिए।

उपप्रा. डा. शारदा लामिछानेले मिश्रित चेतनाका कथा लिएर श्रेष्ठ अघि बढेका भनी कथाकारको शक्ति चिनाएकी छन्। उपप्रा. चतुर्भुज केवरतले अर्थका तहभित्र प्रवेश गरी कृतिको बोध गर्न पाठक स्वतन्त्र रहेको धारणा अघि सारे।

विभागीय प्रमुख माधव उपाध्यायले कथाकार श्रेष्ठलाई शुभकामना दिँदै पाटन संयुक्त क्याम्पस, नेपाली विभागले यस प्रकृतिका विमर्श कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।

प्राध्यापक तथा स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूको समुपस्थितिमा विभागले हरेक महिनाको अन्तिम शुक्रबार ‘संज्ञान विमर्शँ मा स्रष्टा, कृति, विचारक, विचार र सिद्धान्तमाथि छलफल तथा विमर्श गरी ज्ञाननिर्माणको अभियान अघि बढाउने योजना सार्वजनिक गरेको छ।

श्रेष्ठको पाँचौँ कृति ‘फिर्दोसको साँचो’ मा ११ वटा कथा छन्। श्रेष्ठका यसअघि ‘बन्द फ्रेमभित्रको चिठी’ उपन्यास, ‘हराएका छोराहरू’ कवितासंग्रह, ‘देशको चिना’ मुक्तकसंग्रह र ‘यादका बस्तीहरू’ गीतिसंग्रह प्रकाशित भइसकेका छन्।

प्रकाशित: १४ मंसिर २०८२ १०:५७ | Sunday, November 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast