बैतडी कारागारको जीर्ण भवनबाट ५९ जना बन्दीलाई स्थानान्तरण गरियो

हिमाल प्रेस १३ मंसिर २०८२ १२:१२ | Saturday, November 29, 2025
12
SHARES
बैतडी कारागारको जीर्ण भवनबाट ५९ जना बन्दीलाई स्थानान्तरण गरियो

बैतडी- बैतडी कारागारमा रहेका कैदी र थुनुवालाई स्थानान्तरण गरिएको छ। जीर्ण अवस्थामा रहेको भवनलाई नयाँ निर्माण गरिने भएकाले कैदी र थुनुवालाई विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो।

कूल ५३ जना कैदी र ६ जना थुनुवालाई डडेलधुरा, दार्चुला, बझाङ र बाँकेका कारागारमा स्थानान्तरण गरिएको कारागार कार्यालय बैतडीका प्रमुख धारा भण्डारीले जानकारी दिए।

दार्चुला कारागारमा ६ थुनुवा र तीन जना कैदी, बझाङ ९ जना कैदी, डडेल्धुरा १४ जना कैदी र बाँकेको नौबस्ता कारागारमा २७ जना कैदीलाई स्थानान्तरण गरिएको उनले बताए।

कूल २५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा ५९ जना कैदीबन्दी रहेका थिए। ८५ क्षमताको नयाँ बन्दीगृह निर्माण गरिने कारागार बैतडीले जनाएको छ।

‘सघन सहकारी तथा भवन निर्माण आयोजना कार्यालय डोटी र निर्माण कम्पनीबीच सम्झौता भैसकेको छ’,उनले भने,‘कार्यादेशसमेत आइसकेको छ। अबको एक दुई दिनभित्र काम सुरु हुन्छ।’

बन्दीगृह निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ। केकेजे कालिका एस बी जेभी सुकेधाराले बन्दीगृह निर्माणको काम गर्नेछ। सो कम्पनीसँग रु सात करोड ९७ लाख ७१ हजार ४१९ मा सम्झौता भइसकेको सघन सहकरी तथा भवन निर्माण आयोजना कार्यालय डोटीले जनाएको छ।

२०८४ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ। नयाँ बन्दीगृह निर्माण भएपछि कैदीबन्दीको व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको कारागार प्रमुख भण्डारीले बताए।

प्रकाशित: १३ मंसिर २०८२ १२:१२ | Saturday, November 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast