 
                             
                                            पाल्पा- कालीगण्डकी नदी ऐतिहासिक धार्मिक तथा पौराणिक एवं पर्यटकीय सभ्यता बोकेको नदी हो। दामोदर कुण्डबाट बहेकी कालीगण्डकी नदीको महत्त्व र पर्यटन विकासका विषयमा बेलाबेलामा बहस हुने गरेका छन्।
नेपालमा कालीगण्डकीको सभ्यता निकै पुरानो मानिन्छ। धार्मिक महत्त्व बोकेकाले पनि नदीको पानीलाई जोडेर विकासका नाममा एकपक्षीय खेलबाड गर्न नहुने सरोकारवालाको तर्क छ।
पाल्पाको राम्दीमा नदी डाइभर्सन र नवलपुरको बुलिङ्टार गाउँपालिकाको खाल्डेमा करिब पाँच सय वाट क्षमताको विद्युत् निकाल्ने योजनाको विरुद्ध प्रभावित क्षेत्रका स्थानीय तथा सरोकारवाला, राजनीतिक दल, सांसद, समाजसेवी, बुद्धिजीवीले त्यसको विरोधमा ऐक्यबद्धता जनाउँदै सो योजना अगाडि बढ्न नदिनेमा जोड दिइएको छ।
नदीको माथिल्लो भाग (राम्दी क्षेत्र)मा डाइभर्सन गर्ने योजना र तलको भाग (खाल्डे)मा विद्युत् प्राधिकरणले हाईड्याम बनाएर विद्युत् उत्पादन गर्ने कार्यक्रम ल्याएकामा यसले सो ठाउँको आसपास तथा मध्यभागमा बसोबास गर्ने स्थानीयवासीलाई नराम्रो असर पार्ने भएकाले नदीलाई आफ्नै गतिमा बहन दिनुपर्नेमा चासो र चिन्ता व्यक्त गरिएको छ।
कालीगण्डकी नदीको आफ्नै धार्मिक महत्त्व र विशेषता रहेता पनि यस नदी डाइभर्सनका प्रक्रियाले प्रभावित क्षेत्रका बासिन्दामा सधैँ पिरोल्ने गरिरहेको हुन्छ। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमा भएर बहेको कालीगण्डकी नदीको पर्यावरण, धार्मिक अस्तित्व, यसको पर्यटन विकास, सभ्यता जोगाउन सरोकारवालाले माग गरिरहेका छन्।
पवित्र धार्मिक ऐतिहासिक तथा पर्यटकीय क्षेत्र केलादीधाममा कालीगण्डकीको संरक्षण र सभ्यता जोगाउँदै पर्यटन प्रवर्द्धनसम्बन्धी लुम्बिनी र गण्डकी प्रदेशका सरोकारवालाबीच भएको बृहत् अन्तर्क्रिया कार्यक्रममा नदीलाई कुनै पनि हालतमा तोडमोड गर्न नहुनेमा जोड दिइएको छ।
गण्डकी प्रदेश सरकारका पूर्वआर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कालीगण्डकी नदीका कारण धेरै धार्मिक तथा सांस्कृतिक धरोहर बनेको बताए। विश्वमा नै छुट्टै पहिचान बनाएको यस नदीको सभ्यता र पर्यावरणलाई जोगाएर संरक्षण गर्नुपर्ने उनले बताए।
‘यसको महत्त्व अन्य नदीको तुलनामा बेग्लै छ, यो नदी भनेकै प्रकृति हो, यससँग सम्बन्धित नदीका सबै कुरालाई अध्ययन, अनुसन्धान गर्दै यसको महत्त्वलाई उजागर गर्नुपर्नेछ,’ उनले भने, ‘यसको तटीय क्षेत्रमात्र नभई प्रशोधन क्षेत्रका हरेक नागरिक जागरुक हुनु आवश्यक छ, डाइभर्सनको विरुद्धमा लगातार विरोधका कार्यक्रम भइरहेका छन् तर डाइभर्सनको प्रक्रिया रोकिएको छैन।’
गएको आर्थिक वर्षदेखि नै यसको विस्तृत सम्भाव्यता अध्ययन डीपीआरको चरण अगाडि बढेको जानकारी गराउँदै पूर्वमन्त्री गुरुङले त्यसका लागि केन्द्रीय सरकारले बजेट विनियोजनसमेत गरेको जानकारी गराए। कालीगण्डकी नदीलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने पक्षमा आफू लागिरहेको बताउँदै उनले प्रभावित क्षेत्रका प्रत्येक घरका नागरिक यसको विरुद्धमा जागरुक भएर लाग्नुपर्ने बताए।
लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले कालीगण्डकी नदी डाइभर्सनको पक्षमा प्रभावित क्षेत्रमा कोही पनि नरहेको उल्लेख गर्दै कालीगण्डकी करिडोर र शालिग्राम करिडोर यस नदीसँग जोडिएकाले कालीगण्डकीबेँसीका क्षेत्रलाई समेटेर एउटा रिङरोड बनाइनुपर्ने बताए।
‘यस नदीलाई जोगाउन राम्दीबाट देवघाटसम्म जल यातायात सञ्चालन गर्ने, राम्दीबाट देवघाट क्षेत्रमा पर्ने प्रभावित क्षेत्रका ११ पालिकाको बृहत् छलफल गरेर योजनाबद्ध तरिकाले अगाडि बढ्नुपर्ने, लुम्बिनी प्रदेश सरकारबाट नदी डाइभर्सन हुन नदिन मेरो पूर्ण साथ र सहयोग रहनेछ,’ उनले भने।
पाल्पाको राम्दीबाट देवघाटसम्म एक ठाउँमा कालीगण्डकी उत्तर दिशातर्फ बगेकाले यसलाई उत्तरवाहिनी नदी पनि भनिन्छ। यो नदीलाई शालग्रामी नदी, कालीनदी र काली आदिजस्ता नामबाट पनि चिन्ने गरिन्छ। यस नदीको जल स्पर्श गरेमा मात्र पनि मानव शरीर पवित्र हुन्छ भने यहाँ स्नान, दान, तप, तर्पण, श्राद्ध आदि जस्ता कार्य गरेमा असङ्ख्य फल प्राप्ति हुन्छ र अन्तमा मोक्ष प्राप्ति हुन्छ भन्ने मान्यता छ।
यस क्षेत्रमा मनाइने विभिन्न पर्व जस्तै वैशाखे संक्रान्ति, जनै पूर्णिमा, साउन महिनाको सोमबार, एकादशी तिथि, माघे सङ्क्रान्ति, सूर्यग्रहण तथा चन्द्रग्रहण लागेका समय एवं घरमा जुनसुकै यज्ञ–यज्ञादि गर्दा कालीगण्डकी स्नान गरेर यहाँको जल घरमा लैजाने चलन छ।
कालीगण्डकी नदीलाई कुनै पनि हालतमा डाइभर्सन गरेर अन्यत्र लैजान दिन नहुने र अहिलेलाई नेपालका तराईका क्षेत्रमा जमिन सिञ्चित गर्ने भनिए पनि पछि भारतमा लैजाने षड्यन्त्र बनाइएको हुन सक्ने भएकाले यहाँको वातावरण नै खलबलिने गरी पानी अन्यत्र लैजान नहुने नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य विष्णुभक्त सिग्देल बताउँछन्।
‘कालीगण्डकी नदी हाम्रो सभ्यता हो, पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर क्षेत्रका चारै जिल्लाका नागरिक एकीकृत भएर सरकारलाई नदी डाइभर्सन र यसको पर्यावरण खलबल्याउने कार्यविरुद्ध खबरदारी गर्नेछौँ, यस अभियानको नेतृत्व गरेर अगाडि बढ्नेछौँ,’ उनले भने।
कालीगण्डकी मानवको जीवनसँग जोडिएको छ। नदीलाई अन्यत्र लैजाने षड्यन्त्रविरुद्धको खबरदारी गर्दै, यस वरिपरिका सिञ्चित नभएका खुला चौर, जमिनलाई प्रविधिको प्रयोग गरी हराभरा गराउने, पर्यटकीय क्षेत्र विकास गर्नुपर्नेमा प्रभावित क्षेत्रका स्थानीयवासीले सुझाव दिएका छन्।
विद्युत् उत्पादनका लागि तटबन्ध गराउँदा नदी आसपासका क्षेत्र जलाशय हुने भएकाले यस क्षेत्रमा बसोबासका लागि जोखिम हुने हुँदा बुलिङ्टारको खाल्डेमा पाँच सय वाट क्षमताको विद्युत् उत्पादन कार्य अगाडि बढाउन नहुनेमा स्थानीयवासीले असन्तुष्टि जनाएको बौदीकाली गाउँपालिका नवलपुरका स्थानीय पत्रकार वीरबहादुर बिसी बताए।
लुम्बिनी र गण्डकी यी दुई प्रदेशबीचको साझा नदी भएकाले एक प्रदेशले अर्को प्रदेशको सहमति र समन्वयबिना नदीलाई तोडमोड गर्ने, जोखिमयुक्त बस्तीको अध्ययन नगरिकन विद्युत् योजना ल्याउँदा स्थानीयवासीमा ठूलो असर पर्ने देखिन्छ। कालीगण्डकी नदीको नाममा व्यक्तिगत स्वार्थ, फाइदा लिने गरी यसमा कसैले राजनीतिक तवरबाट काम गर्न नहुने बौदीकाली गाउँपालिका नवलपुरका अध्यक्ष प्रकाश ओझाले बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 