मधेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादव
काठमाडौँ- सर्वोच्च अदालतले मधेश प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति विरूद्धमा परेका तीनै वटा छुट्टाछुट्टै रिटको सुनुवाइ एकसाथ गर्ने भएको छ। बिहीबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको पूर्ण इजलासले तीन वटा रिटको सुनुवाइ गर्ने भएको हो।
यसअघि मंसिर २ गते सर्वच्च अदालतले मंसिर ९ गतेभित्र विपक्षीहरूबाट लिखित जबाफ पेस गर्न भनेको आदेश दिएको थियो। त्यस्तै मंसिर ११ गतेदेखि अन्तिम सुनुवाइ गर्ने भनिएको छ।
मधेस प्रदेश सभाका ७४ सांसदहरू संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय विरूद्ध सर्वोच्च गएका थिए।
सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई मुद्दा किनारा नभएसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले कात्तिक २४ गते झिसमिसेमै होटलमा मुख्यमन्त्री यादवलाई शथप गराएकी थिइन्।


