सीता स्वयंवर सकियो, राति विवाह मनाइँदै

हिमाल प्रेस ९ मंसिर २०८२ १७:२४ | Tuesday, November 25, 2025
30
SHARES
सीता स्वयंवर सकियो, राति विवाह मनाइँदै

जनकपुरधाम- त्रेतायुगमा भगवान श्रीराम जानकीबीच विवाह भएकाे स्मरणमा मनाइँदै आएकाे विवाह पञ्चमी महाेत्सवकाे अवसरमा सीता-रामको स्वयंवर आज (मंगलबार) सम्पन्न भएकाे छ। मिथिलाको ऐतिहासिक तथा धार्मिक पर्व विवाह पञ्चमीअन्तर्गत जनकपुरधामस्थित रंगभूमि मैदानमा स्वयंवर कार्यक्रम सम्पन्न भएकाे हाे।

त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नाे छाेरीकाे विवाहका लागि आयाेजना गरेकाे धनुष यज्ञमा श्रीरामले धनुष ताेडेपछि स्वयंवर आयाेजना गरेका थिए। साे स्मरणमा प्रत्येक वर्ष विवाहाेत्सवका दिन स्वयंवर कार्यक्रम आयाेजना गरिँदै आइएकाे छ।

जानकी मन्दिरबाट माता सीतारामसहितकाे डाेला (मण्डप) र राम मन्दिरबाट निस्केकाे डाेला नगर परिक्रमा गर्दै रंगभूमि मैदानमा एकै ठाउँमा भेला भएका थिए। त्यसपछि डाेलाकाे मिलान गरी भगवान श्रीरामकाे डाेलालाई तीन पटक परिक्रमा गर्दै पुनः नगर परिक्रमामा जानकी मन्दिरका डाेला निस्केका थिए। नगर परिक्रमा पश्चात् राम मन्दिर र जानकी मन्दिर दुवै डाेला आ-आफ्नाे मन्दिर फर्केका छन्।

निकै कडा सुरक्षाका बीच प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद फुइटेल, नेपाली सेनाकाे प्रतिनिधिहरू लगायतकाे व्यक्तिहरूकाे उपस्थितिमा निस्केकाे जानकी मन्दिरकाे साे डाेलामाथि नेपाली सेनाकाे हेलिकप्टरबाट पुष्पवृष्टि गरिएकाे थियाे।

स्वयंवर पश्चात् राति मैथिल संस्कारअनुसार वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ। साे स्वयंवर कार्यक्रममा जानकी मन्दिर, राम मन्दिरका साधु सन्त, महाेत्सव हेर्न आएका लाखाैँकाे संख्यामा नेपाल भारतबाट आएका श्रद्धालुहरूकाे सहभागिता थियाे।

विवाहमा राम-लक्ष्मण, भरत-शत्रुघ्न, जनक परिवार र उपस्थित श्रद्धालुहरूबीच फूल–मालाको विनिमय, सप्तपदी, कन्यादान लगायतका विधिहरूको नाट्यरूपान्तरण गरी धार्मिक वातावरण बनाइने तयारी गरिएकाे जानकी मन्दिरका उतराधिकारी महन्थ रामराेशन दासले बताएका छन्।

मिथिलाको सांस्कृतिक पहिचानको महोत्सव विवाह पञ्चमीलाई मिथिलामा सबैभन्दा ठूलो सांस्कृतिक तथा धार्मिक पर्व मानिँदै आएकाे छ।

प्रकाशित: ९ मंसिर २०८२ १७:२४ | Tuesday, November 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast