मध्यपहाडी राजमार्ग : पोखराको हरिचोक-याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

हिमाल प्रेस ८ मंसिर २०८२ ११:४९ | Monday, November 24, 2025
14
SHARES
मध्यपहाडी राजमार्ग : पोखराको हरिचोक-याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

कास्की- मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन्।

पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ। कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ।

यस खण्डको काम अहिले लगभग सकिन लागेको छ। यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिए। उनका अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङ हुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन्।

‘हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ। कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ,’ इञ्जीनीयर सुवेदीले भने।

उनका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ। इञ्जीनीयर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ।

२०७९ साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो। मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो। तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो।

तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो। यस खण्डको तेस्रो पटक थपिएको म्याद २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताए।

‘तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ। निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो। कार्यालयबाट पटक पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ,’ सुवेदीले भने।

सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन्। लामो समय धुलो र हिलोको सास्ती बेर्होन परेका उनीहरु फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन्। पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गरे।

मध्यपहाडीको हरिचोक–याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभइ साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन्।

प्रकाशित: ८ मंसिर २०८२ ११:४९ | Monday, November 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast