चुनावका लागि कांग्रेसले गरायो दल दर्ता, टिकटमा देउवाकै हस्ताक्षर चल्ने

हिमाल प्रेस ७ मंसिर २०८२ १७:५६
34
SHARES
चुनावका लागि कांग्रेसले गरायो दल दर्ता, टिकटमा देउवाकै हस्ताक्षर चल्ने

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गरेको छ। माघको राष्ट्रियसभा र फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको हो।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा दल दर्ता गरेको जानकारी दिए। ‘नेपाली कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ, सबै प्रयोजनका लागि दल दर्ता भएको हो,’ उनले भने।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका टिकटमा सभापति शेरबहादुर देउवाकै हस्ताक्षर चल्ने गरी कांग्रेसले दल दर्ता गरेको बताइएको छ। दल दर्ता गर्दा कांग्रेसले टिकटमा हस्ताक्षरका लागि सभापति देउवाकै हस्ताक्षर चल्ने जानकारी आयोगलाई गराएको स्रोतले जनाएको छ।

कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको थियो।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित आफ्नै निवासमा आक्रमणमा परेपछि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएका थिए। असोज २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपचारका लागि सिंगापुर जानुपर्ने भन्दै उनले उपसभापति खड्कालाई कार्यबाहक तोकेका थिए।

आसन्न निर्वाचनमा सहभागी हुन कांग्रेसभित्र नेतृत्वलाई लिएर विवाद चर्किएको बेला सभापति देउवाले टिकटमा हस्ताक्षर गर्ने अधिकार आफूसँगै राखेका छन्।

निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताका अन्तिम दिन आइतबार (आज) तोकेको थियो। त्यस्तै फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भने मंसिर १० गतेसम्म दल दर्ताका लागि निवेदन दिने समय आयोगले तोकेको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने देउवाकै नेतृत्वमा चुनावमा सहभागी हुन नसकिने भन्दै त्यसअघि महाधिवेशन गर्नुपर्ने अडान लिइरहेका छन्।

शनिबारमात्रै केन्द्रीय समितिको बैठकपछि महामन्त्री थापाले पुसमा नियमित महाधिवेशन नभए मंसिरमा विशेष महाधिवेशन निर्विकल्प रहेको जिकिर गरेका थिए। महाधिवेशनमार्फत थापा आफैँ काग्रेसको नेतृत्वमा आउन चाहेका छन्।

जबकि संस्थापनपक्ष भने महाधिवेशनको तिक्तता लिएर चुनावमा सहभागी हुन नसकिने बताउँदै आएको छ। संस्थापनपक्षले फागुन २१ को चुनावपछि वैशाखमा नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएको छ।

चुनावअघि वा चुनावपछि महाधिवेशन गर्नुपर्ने भनेर कांग्रेस नेताहरूको मत बाँडिएपछि लामो समयसम्म चलेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्न सकेको छैन। अब मंसिर ११ गते बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशनको मितिबारे सहमतिमा निर्णय गर्ने नेताहरूले दाबी गरेका छन्।

प्रकाशित: ७ मंसिर २०८२ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast