के गर्दै छन् घनश्याम भुसाल?

हिमाल प्रेस ७ मंसिर २०८२ १६:५० | Sunday, November 23, 2025
398
SHARES
के गर्दै छन् घनश्याम भुसाल? घनश्याम भुसाल

काठमाडौँ– वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानमा सक्रिय भएका छन्। उनी निकट नेताहरूका अनुसार नाम पुरानै रहँदा विगतमा सोही पार्टीमा रहेका नेताहरू अन्यत्र नजाने बुझाइले उनी पार्टी पुनर्गठनमा लागेका हुन्।

यसअघिको भेलाले भुसाललाई एकता अभियानको संयोजक तोकेको थियो। अभियान ६७ सदस्यीय छ। समाजवादीका केन्द्रीय सदस्यलाई अभियानमै रहन अपिल गरिएको जानकारी भुसाल निकट दामोदर अर्यालले दिए। ‘हामीले अन्त नजानुहोस् अब यसैलाई नै नयाँ पार्टी बनाउनुपर्छ भनेका छौँ’, अर्याल भन्छन्।

अभियानले आगामी मंसिर अन्तिममा भेला आयोजना गर्ने भएको छ। अर्यालका अनुसार भेलाबाट पार्टी घोषणा हुनेछ। ‘मंसिर अन्तिममा भेला गरेर नयाँ किसिमले पार्टी अघि बढाउँछौँ। पार्टीको नाम पनि भेलाबाटै सार्वजनिक हुन्छ’, उनले भने। अभियानले निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया अघि बढाएको छ।

अर्यालका अनुसार नयाँ पार्टीमा भ्रष्टाचारको दाग लागेका व्यक्तिलाई प्रवेश दिइनेछैन। ‘हामी भ्रष्टाचारविरुद्धको पार्टी बनाउनेछौँ। दलको संरचना हालका पार्टीभन्दा भिन्न किसिमको बन्नेछ’, उनले भने, ‘हामी अध्यक्षलाई सबैभन्दा कम अधिकार भएको पार्टी बनाउँदै छौँ। अहिलेका पार्टीले जस्तो व्यक्तिलाई अधिकार दिँदैनौँ। हाम्रो पार्टीको निर्णयकर्ता महाधिवेशन प्रतिनिधि हुनेछन्। त्यसपछि क्रमशः केन्द्रीय समिति, सचिवालय रहनेछन्।’

अभियानले तत्काल एकता–सहकार्य प्रक्रिया अघि बढाउने छैन। अर्यालका अनुसार भेलापछि मात्रै अन्य दलसँग संवाद अघि बढाइनेछ। आगामी आम निर्वाचनमा अभियान सामेल हुनेछ। त्यसैका लागि भेला र कार्यक्रम अघि बढाएको अर्यालले बताए।

घनश्याम भुसाल वामपन्थी राजनीतिमा सक्रिय नाम हो। विगतमा केही वर्षयता उनको राजनीतिक जीवन ‘अस्थिर’ बन्यो। एमाले र तत्कालीन माओवादी केन्द्र एकतापछि बनेको नेकपाको गिजोलिएको राजनीतिले भुसालको राजनीतिमा असर गरेको बुझाइ अर्यालको छ। नेकपा बन्दा केपी शर्मा ओली नेतृत्वको सरकारमा कृषिमन्त्री बने। नतिजा दिन नसक्दा उनीमाथि प्रश्न थोपरिएको थियो।

माधवकुमार नेपाल र झलनाथ खनालले एमाले छाड्दा भुसाल एमालेमा रहे। ओलीले एमालेमा पनि भुसाललाई ‘स्पेस’ नदिएपछि उनले नेकपा एकीकृत समाजवादी रोजेका थिए। समाजवादीमा लागेको केही समयमै महासचिव बनेका भुसाल नेपालसँग विच्छेद भएका छन्।

नेपाल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। भुसलालाई पनि त्यही पार्टीमा आउन अनुरोध गरिएको थियो। भुसालले ‘बुढो पुस्ता’ ले नेतृत्व छाडेमा आफू नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुने अडानमा थिए। ‘मिलिभगत’मा एकता गरेका प्रचण्ड–नेपालले नेतृत्व नछाडेपछि भुसाल वामपन्थी एकताको अगुवाइमा लागेका हुन्।

प्रकाशित: ७ मंसिर २०८२ १६:५० | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast