सुदन किराँती भन्छन्- जेनजी विद्रोहको सन्देश नै रूपान्तरण र पुस्तान्तरण हो

हिमाल प्रेस ७ मंसिर २०८२ १४:११ | Sunday, November 23, 2025
18
SHARES
सुदन किराँती भन्छन्- जेनजी विद्रोहको सन्देश नै रूपान्तरण र पुस्तान्तरण हो

काठमाडौँ- नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराँतीले जेनजी विद्रोहले राजनीतिक दलहरूलाई दिएको मूल सन्देश पुस्तान्तरण र रूपान्तरण नै भएको बताएका छन्।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता घोषणा सभामा सम्बोधन गर्दै उनले जेनजी पुस्ताले नबोलेरै दिएको सन्देशलाई ठूला दलहरूले बेवास्ता गरेको आरोप लगाए।

किराँतीका अनुसार जेनजी पुस्ताको विद्रोहको अर्थ नयाँ नेतृत्व उदय र पुरानो संरचनाको रूपान्तरण हो। उनले भने,‘जेनजीहरूले नबोलेर दिएको सन्देश रूपान्तरण र पुस्तान्तरण नै हो। आज ठूला दलहरूले ती सन्देशलाई ओझेलमा पार्दै वृद्धाश्रम खोल्नु भएको छ। उहाँहरूलाई सम्मान छ तर आजको आवश्यकता बुझ्न सक्नुभएन।’

किराँतीले वर्तमान राजनीतिक वास्तविकताले वैकल्पिक संरचना र नयाँ प्रकारको नेतृत्वको आवश्यकता देखाएको भन्दै प्रलोपा गठन गरेको बताए। ‘हामीलाई नाङ्लो पसल खोल्नु छैन,’ उनले भने, ‘जनताको सेवा गर्दै समस्या समाधान गर्ने विचार र विधिसहितको शक्ति निर्माण गर्न खोजिरहेका छौं।’

किराँतीले जनतामुखी नेतृत्व, पारदर्शिता र नयाँ पुस्ताको सहभागितामार्फत मात्र राजनीतिक रूपान्तरण सम्भव हुने दाबी गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टी त्यसैको आधारमा अघि बढ्ने बताए।

प्रकाशित: ७ मंसिर २०८२ १४:११ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast