महाभारतका यदुवंशी सेना रोजेनौँ, बाबुराम, जनार्दन, राम कार्की, ओजस्वी भट्टराईजस्ता कृष्ण रोज्यौँ : सुदन किराँती

हिमाल प्रेस ७ मंसिर २०८२ १४:०४ | Sunday, November 23, 2025
42
SHARES
महाभारतका यदुवंशी सेना रोजेनौँ, बाबुराम, जनार्दन, राम कार्की, ओजस्वी भट्टराईजस्ता कृष्ण रोज्यौँ : सुदन किराँती

काठमाडौँ- पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किराँतीले (तत्कालीन नेकपा माओवादी केन्द्र) पार्टीभित्र लामो समयदेखि नेतृत्वको पुस्तान्तरण र संगठनात्मक रूपान्तरणका लागि उठाउँदै आएको मुद्दाको सुनुवाइ नहुँदा आफू विद्रोहमा उत्रिएको बताएका छन्।

आइतबार राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकता सभामा सम्बोधन गर्दै उनले ३७ वर्षसम्म एउटै नेतृत्वमा पार्टी टिकाइएको र जेनजी विद्रोहलाई अस्वीकार गरी पार्टीलाई ‘वृद्धाश्रम’ बनाइएकै कारण विद्रोह गर्नुपरेको जिकिर गरे।

‘२४० वर्षको राजतन्त्र ढाल्न सक्ने नेताहरू आफैँ भित्रका परिवारतन्त्रसँग पराजित भए। लोकतन्त्र नेतातन्त्र र नातातन्त्रमा रूपान्तरण भयो। लोकतन्त्रका लागि लड्ने नेताहरू नै भ्रष्टतन्त्रमा परिणत भए। जेनजी युवाहरूको सडकमा रगतका टाटा सुक्न नपाउँदै प्रतिक्रान्तिको हुंकार हुन थालेको छ,’ उनले थपे, ‘हामीले महाभारतका यदुवंशी सेना रोजेनौँ, हामीले बाबुराम, जनार्दन, राम कार्की र ओजस्वी भट्टराईजस्ता कृष्ण रोज्यौँ। पुस्तान्तरण र रुपान्तरणका मुद्दा उठायौँ तर ठूला पार्टीका नेताहरूले ती मुद्दालाई वृद्धाश्रममा पुर्‍याइदिए।’

किराँतीले आफूहरू ‘एक थान पार्टी खोल्ने’ हेतुले होइन, जनताको सेवा गर्ने विधि, विचार र नवीन प्रणालीसहितको संरचना बनाउन लागेको दाबी गरे। उनले भने,‘आजदेखि नयाँ जिम्मेवारीको प्रारम्भ गरेका छौँ। कम्युनिस्ट छोड्यौँ भनिन्छ, खोल मात्रै उतै छोडेका हौँ, गुदी भने बोकेर आएका छौँ।’

जेनजी विद्रोहपछि पनि प्रतिक्रान्तिको आवाज बढ्दै जाँदा फेरि विदेशी षड्यन्त्र देख्नु विडम्बनापूर्ण रहेको टिप्पणी गर्दै उनले परिवर्तनको आवश्यकतामा जोड दिएका छन्।

प्रकाशित: ७ मंसिर २०८२ १४:०४ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast