पशुपतिमा पशुपति तत्त्व विमर्श

हिमाल प्रेस ७ मंसिर २०८२ १२:३६ | Sunday, November 23, 2025
64
SHARES
पशुपतिमा पशुपति तत्त्व विमर्श

काठमाडौँ- महेश संस्कृत गुरुकुलको आयोजनामा शनिबार पशुपतिस्थित शंकराचार्य मठमा पशुपति तत्त्व विमर्श तथा विद्वत्सभा सम्पन्न भएको छ। महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरिज्यूको सत्संकल्पमा आयोजित भागवत महायज्ञको पूर्वसन्ध्यामा उक्त विद्वत्सभा आयोजना गरिएको हो।

विद्वद्गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका संस्थापक शिक्षाध्यक्ष न्यायतन्त्रादिशास्त्रका विशिष्ट विद्वान् प्राध्यापक विद्यानाथ उपाध्याय, न्याय तथा वेदान्तदर्शनका मूर्धन्य विद्वान् प्रा.डा. दीर्घराज घिमिरे, वेदान्तदर्शन तथा धर्मशास्त्र पुराणादिका व्याख्याता प्राध्यापक भवानीप्रसाद खतिवडा, गुरुकुल प्रवर्धन समाजका अध्यक्ष तथा भागवतका कुशल प्रवक्ता आचार्य कपिलदेव सुवेदी, नेपाली भाषासाहित्यका कुशल समालोचक तथा संस्कृतका आधिकारिक विद्वान् प्रा.डा. ध्रुवप्रसाद भट्टराई, न्यायदर्शनका युवा विद्वान् डा. वैकुण्ठ घिमिरेलगायतका दर्जनौँ विद्वान व्यक्तित्वको सहभागिता तथा सयौँ अध्यात्मप्रेमी तथा सत्सङ्गानुरागी महानुभावको समुपस्थिति थियो।

समारोहमा प्राध्यापक भवानीप्रसाद खतिवडाले स्वागत मन्तव्यसहित विद्वद्गोष्ठी आयोजना गर्नुको आौचित्य प्रकाश पार्दै पशुपतित्त्वका बारेमा आफ्ना दार्शनिक विचार प्रकट गरेका थिए।

पशुपतिका बारेमा विशालकाय ग्रन्थको सम्पादन तथा प्रकाशन गर्ने विशिष्ट विद्वान् तथा शक्तितत्त्वका समुपासक देवीप्रसाद चापागाईंले पशुपतित त्त्वका बारेमा विचार राखेका थिए।

वेदान्त दर्शनका विशिष्ट विद्वान् प्रा.डा. दीर्घराज घिमिरे पाशुपत क्षेत्रको ऐतिहासिक तथा पौराणिक महत्त्वलाई स्पष्ट पार्दै पशुपति तत्त्वका सम्बन्धमा अद्वैतपरक गहन दार्शनिक प्रवचन गरेका थिए।

त्यसैगरी न्यायादिदर्शनका विशिष्ट विद्वान् तथा तन्त्रशास्त्रका आधिकारिक साधक प्राध्यापक विद्यानाथ उपाध्यायले पशुपति तत्त्वका सम्बन्धमा कवितामय, अद्वैतपरक एवम् दार्शनिक प्रवचन गरेका थिए।

समारोहका अन्तमा व्यासासनबाट स्वामी रमणानन्द गिरिले गुरुका पनि पशुपति तत्त्वका सम्बन्धमा गहन अनुसन्धानात्मक प्रवचन श्रवण गर्न पाउनुलाई अहोभाग्य मान्दै गुरुहरूप्रति आभार प्रकट गरेका थिए। उनले पशुपति तत्त्वका बारे अद्वैतपरक दार्शनिक प्रवचन दिँदै सभा विसर्जन गरेका थिए। उक्त विद्वद्गोष्ठीको सञ्चालन डा. उमेशप्रसाद घिमिरेले गरेका थिए।

शंकराचार्य मठमा आइतबार राष्ट्रशान्तिको उद्देश्य लिएर श्रीमद्भागवत महापुराण सप्ताह महायज्ञ सुरु भएको छ। महायज्ञ १४ गते समापन हुनेछ।

स्वामीले राष्ट्रदेव पशुपतिनाथले आफ्नो रुद्रस्वरूप ग्रहण नगरी शिवभाव/शान्तस्वरूप धारण गर्नुहोस् र राज्यमा शान्ति कायम होस् भन्ने पावन संकल्पका साथ राधाकृष्ण मय ब्रह्मतत्त्व (अभेदेन पशुपतितत्त्व) को उपासना गर्न लागिएको सप्ताहव्यापी भागवत महायज्ञमा सहभागी हुन भक्तजनलाई आमन्त्रण समेत गरेका छन्।

 

प्रकाशित: ७ मंसिर २०८२ १२:३६ | Sunday, November 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast