जिम्मेवार नेता, गैरजिम्मेवार अभिव्यक्ति

हिमाल प्रेस ७ मंसिर २०८२ ११:५८
34
SHARES
जिम्मेवार नेता, गैरजिम्मेवार अभिव्यक्ति

काठमाडौँ- नेकपा एमाले यतिबेला राजनीतिक संयमता भुलेर द्वन्द्व निम्त्याउन उद्यत देखिएको छ। देशकै पुरानो कम्युनिस्ट पार्टी एमाले धम्कीपूर्ण भाषण र युवा स्वयंसेवी दस्ता (युथ भोलेन्टर) निर्माण गरेर हिंसा केन्द्रित देखिएको हो।

एमालेले २०४६ सालको परिवर्तनयता केही वर्षमै संगठनको जरा गाउँगाउँसम्म फैलाएर वामपन्थी शक्तिको उचाइ प्राप्त गरेको थियो। मदन भण्डारी र मनमोहन अधिकारीको चुस्त सांगठनिक कौशलले फस्टाएको एमाले  पछिल्ला दिनमा प्रतिशोधपूर्ण राजनीतितर्फ ढल्किएको छ। पार्टीभित्र र बाहिर पनि अध्यक्ष केपी शर्मा ओलीको प्रतिशोधपूर्ण अभिव्यक्ति सुन्न पाइन्छ।

भदौ २३ गते भएको जेनजी आन्दोलन दबाउन राज्यका तर्फबाट १९ जनाको हत्या भएको थियो। त्यति बेला प्रधानमन्त्री रहेका ओलीले उक्त घटनाको जिम्मेवारी लिएका छैनन्। उल्टै सत्ता, विपक्षी दल र त्यति बेलाका आन्दोलनकारी जेनजीको विरोधमा एमाले नेतृत्व सक्रिय भएको छ।

यसमा केपी शर्मा ओली, महेश बस्नेत, सूर्य थापालगायतका नेता बढी आक्रामक देखिएका छन्। यी तीन नेताको अभिव्यक्ति पार्टी महाधिवेशन र प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ केन्द्रित देखिँदैन। साथै उनीहरूको बोलीमा राजनीतिक संस्कार र संयमता हराउँदै गएको छ। गैरजिम्मेवार अभिव्यक्ति दिएपछि यी नेताहरूको आलोचना हुन थालेको छ।

एमालेको एघारौँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा हुने कार्यतालिका छ। पार्टी नेतृत्व महाधिवेशनले तय गर्ने नीति र नेतृत्वका विषयमा लाग्नुपर्नेमा सडकमा विपक्षीविरुद्ध विषवमन गर्न सक्रिय छ।

फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनको विपक्षमा एमाले छ। त्यसैले प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा सडकमा उत्रन अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन्। भदौ २४ को आन्दोलनका क्रममा लुटिएका हतियार सरकारले नियन्त्रणमा ल्याउन नसकेको, फरार कैदीबन्दी पक्राउ गर्न नसकेको र सुरक्षाकर्मीको मनोबल गिरेको भन्दै एमाले तत्काल चुनावका पक्षमा देखिँदैन।

एमाले प्रवक्ता राजेन्द्र गौतम पार्टी महाधिवेशनमा केन्द्रित नभएको बताउँछन्। पार्टीले विरोध प्रदर्शन र जनसभा महाधिवेशनको पूर्वतयारीका रूपमा सञ्चालन गरिरहेको उनले गौतमले बताए।

उनले हिमालप्रेससँग भने, ‘मंसिर १३ गते देशैभर एकसाथ महाधिवेशन छनोट हुने कार्यसूची छ। प्रतिनिधि छनोट भएपछि महाधिवेशनमा केन्द्रित हुनेछौँ। अहिलेका गतिविधिलाई महाधिवेशनकै पूर्वतयारीका रूपमा लिनुपर्छ।’ उनले पनि पार्टी संविधानसभा निर्वाचनभन्दा पुनर्स्थापनाका केन्द्रित रहेको बताए।

गौतमले वातावरण बनेमा पार्टी चुनावबाट नभाग्ने बताए। ‘अहिलेको सरकारले चुनावको वातावरण बनाउन सकेको छैन। वातावरण बनाएमा हामी चुनावबाट भाग्दैनौँ।’

विघटित प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय सरकारमा एमाले दोस्रो ठूलो दल हो। सात प्रदेशमध्ये कोशी, मधेश, लुम्बिनी र कर्णाली गरी चार प्रदेशमा एमाले नेतृत्वको सरकार छ। स्थानीय सरकारमा एमालेको ३३.७२ प्रतिशत प्रतिनिधित्व छ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट ८२ प्रमुख, ११३ उपप्रमुख, १२३ अध्यक्ष, १२६ उपाध्यक्ष, दुई हजार १२७ वडाध्यक्ष, दुई हजार ३४० महिला सदस्य, दुई हजार २८५ दलित महिला सदस्य र चार हजार ६७६ वडा सदस्य निर्वाचित भएका थिए।

ओलीका अराजनीतिक भाषणको शृंखला

भदौ २४ गते प्रदर्शनकारीले बालुवाटर घेर्न पुगेपछि तत्कालीन प्रधानमन्त्री ओली बालुवाटारबाट नेपाली सेनाको हेलिकोप्टर चढेर भागेका थिए। बहालवाला प्रधानमन्त्री असुरक्षित भएपछि बालुवाटारबाटै भाग्नुपरेको घटना सम्भवतः नेपालमा पहिलोपटक भएको हो। ओली केही साता नेपाली सेनाको सुरक्षामा रहेका थिए। स्थिति साम्य हुँदै गएपछि सार्वजनिक भएका ओली बाक्लो सुरक्षा घेराका बीच भक्तपुरको गुन्डुमा बसोबास गर्दै आएका छन्।

असोज ७ गते युवा संघले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टीविरुद्ध भ्रम फैलाउनेमाथि अरिंगाल भएर खनिन निर्देशन दिए। उनले भने, ‘हाम्रा विरुद्ध सञ्चारमाध्यमहरु झुसे बारुलो भएर खनिन हुने, हामीचाहिँ अरिंवगाल हुन नहुने? हाम्राविरुद्ध भ्रम फिँजाउने, प्रचारबाजी गर्नेहरुलाई अरिंगाल भएर ध्वस्त पार्नैपर्छ।’

कात्तिक २३ गते ओलीले पार्टीका युवालाई सडकमा उत्रन निर्देशन दिएका थिए। उनले प्रतिनिधिसभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन सचेत गराएका थिए। अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन युवाहरूले सक्ने भए पनि स्वीकृति नभए पनि नडराई प्रदर्शनमा उत्रनुपर्ने बताएका थिए।

ओलीका सार्वजनिक अभिव्यक्ति प्रधानमन्त्री र मन्त्रीहरुविरुद्ध र जेनजीलाई उत्तेजित तुल्याउने खालका छन्। ओलीले गत बुधबार कार्यकर्तालाई एमालेमाथि आक्रमण भएको अवस्थामा प्रतिकारमा उत्रिन कार्यकर्तालाई निर्देशन दिए। ओलीले शनिबार राजधानीमा आयोजित सभामा जेनजी भन्ने शब्द कृत्रिम र युवालाई दिग्भ्रमित पार्न ल्याइएको तर्क गरे।

यसैगरी ओलीले पार्टीमा नेसनल भोलेन्टियर फोर्स गठन गरेका छन्। अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्र शान्ति सुव्यवस्था कायम गर्न नसकेकाले फोर्स गठन गरिएकोब ताए। उनले भने, ‘सरकारी र व्यक्तिका सम्पत्तिको रक्षा गर्न सरकारी सुरक्षा संयन्त्रले सक्दैन। कसैले शान्ति भंग गर्न खोज्छ भने यो दस्ताले प्रतिरोध गर्छ। यो हिंसाका विरुद्ध हो, लुटपाट र तोडफोडका विरुद्धमा हो।’

ओली तेस्रो तेस्रोपटक एमाले अध्यक्ष बन्ने तयारीमा रहेका नेता हुन्। उनी २०७१ यता एमाले अध्यक्षमा रहँदै आएका छन्।

यसैगरी उनी चारपटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्। ओली २०७२ असोज २५ गते पहिलोपटक, २०७४ फागुन ३ गते दोस्रोपटक, २०७८ वैशाख ३० गते तेस्रोपटक र २०८१ असार ३० गते चौथोपटक प्रधानमन्त्री बनेका थिए। त्यसअघि उनी उपप्रधानमन्त्री र गृहमन्त्री भएका थिए।

एमालेका नेता महेश बस्नेत जेनजीका कडा आलोचक मानिन्छन्। भदौ २४ गतेको घटनापछि उनले सामाजिक सञ्जालमा लेखेर जेनजीको विरोध गरेका थिए। पछिल्ला दिनमा पनि उनले आफ्ना अभिव्यक्तिलाई निरन्तरता दिँदै आएका छन्। एमालेको तल्लो तहबाट संगठनमा उठेका बस्नेत २०५४ सालमा तत्कालीन गुन्डु गाविसका अध्यक्षमा निर्वाचित भएका थिए। बस्नेतले एमाले भ्रातृ संगठन युथ फोर्स र युवासंघको नेतृत्व गरिसकेका छन्। ओलीका प्रिय मानिने बस्नेत २०७० मा चुनाव हारे पनि २०७१ सालमा उद्योगमन्त्री भएका थिए। उनी अहिले एमाले पोलिटब्युरो सदस्य छन्।

यसैगरी अर्का नेता सूर्य थापा पनि जेनजी युवा र सुशीला कार्की नेतृत्वको सरकारका कडा आलोचक हुन्। उनले सामाजिक सञ्जाल र सार्वजनिक सञ्चारमाध्यममार्फत जेनजी र सरकारको आलोचना गर्दै आएका छन्। पत्रकारिताबाट राजनीतिमा लागेका थापा पनि ओली निकटका मानिन्छन्। थापा २०६८ मा झलनाथ खनाल र २०७४ पछि नेकपा एमाले अध्यक्ष ओलीको कार्यकालमा दुईपटक गरी तीनपटक प्रधानमन्त्रीको प्रेस सल्लाहकार भइसकेका व्यक्तित्व हुन्।

उनी २०७१ सालदेखि पार्टीको केन्द्रीय नेतृत्वमा छन्। उनले चार वर्ष पार्टीको केन्द्रीय पर्यटन विभागको प्रमुख भएर काम गरेका छन्। थापा अहिले एमाले पोलिटब्युरो सदस्य छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast