नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित

हिमाल प्रेस ६ मंसिर २०८२ १९:३१ | Saturday, November 22, 2025
14
SHARES
नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित

काठमाडौँ– नाइजेरियामा बन्दुकधारी एक समूहले आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थी र शिक्षकहरूलाई अपहरण गरेको छ।

अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको नाइजेरियाको नाइजर राज्यमा रहेको सेन्ट मेरिज को–एजुकेशन स्कुलमा बन्दुकधारीले आक्रमण गरी २५ जना केटीलाई अपहरण गरी लगेका थिए।

क्रिश्चियन एसोसिएसन अफ नाइजेरिया (क्यान) ले पहिले २२७ जनालाई अपहरण गरेको बताएको थियो तर संख्यालाई अद्यावधिक गर्दै अपहरणमा परेका पीडितहरूको कुल संख्या ३०३ जना विद्यार्थी र १२ जना शिक्षक गरी ३१५ रहेको जानकारी गराएको छ।

सेन्ट मेरिज स्कूलबाट अपहरण गरिएका केटा र केटीहरूको संख्या विद्यालयको कुल विद्यार्थी संख्याको आधा हो।

नाइजेरिया सरकारले अपहरणमा परेका विद्यार्थी र शिक्षकको संख्याबारे कुनै टिप्पणी गरेको छैन।

नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले गुप्तचर विभाग र प्रहरीले ‘क्षतिको गणना’ गरिरहेको र दिनको अन्त्यसम्ममा तथ्यांक सार्वजनिक हुने बताएका छन्।

अपहरणपछि सरकारले बागोका केही विद्यालयहरू बन्द गर्न आदेश दिएको छ।

राष्ट्रपति बोला तिनुबुले संकटको सामना गर्न जोहानेसबर्गमा हुने जी–२० शिखर सम्मेलनमा भाग लिने लगायतका अन्तर्राष्ट्रिय कार्यक्रम रद्द गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा कट्टरपन्थी इस्लामवादीहरूले इसाईहरूको हत्या गरेको आरोपमा सैन्य कारबाहीको धम्की दिएपछि दुई वटा अपहरण र एउटा चर्चमा आक्रमण भएको छ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार नाइजेरियाली राष्ट्रिय सुरक्षा सल्लाहकार नुहु रिबादुसँगको वार्ताका क्रममा अबुजालाई ‘इसाई धर्मावलम्बीविरुद्धको हिंसा रोक्न तत्काल र दिगो दुवै कदम चाल्न आग्रह गरेको’ पेन्टागनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एक दशकभन्दा बढी समयअघि उत्तरी बोर्नो राज्यको चिबोकमा बोको हराम जिहादीहरूले करिब ३०० किशोरी अपहरण गरेपछि नाइजेरिया अझै पनि त्रसित छ। तीमध्ये केही किशोरीहरू अझै पनि फिर्ता भएका छैनन्। उनीहरू सरकारको वेपत्ताको सूचीमा रहेका छन्।-रासस/एएफपी

प्रकाशित: ६ मंसिर २०८२ १९:३१ | Saturday, November 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast