काठमाडौँ- जनकपुरधाममा साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको दोस्रो दिन फूलवारीलिला सम्पन्न भएको छ। त्रेतायुगमा भगवान राम र माता सीताको विवाहपूर्व फूलबारीमा भेट भएको मान्यताअनुसार यो कायक्रम मनाइएको हो।
विवाह पञ्चमीको अवसरमा प्रत्येक वर्ष फूलबारीलिला कार्यक्रम मनाइने गरिन्छ। सीतारामको प्रतिकात्मक स्वरूपमा सजिएर मैथिल वैवाहिक संस्कारका गीत गाउँदै भक्तजनहरू जानकी मन्दिरस्थित विवाहमण्डप पुगेका थिए।
तुलसीकृत रामायणका अनुसार मिथिला नरेश जनकले जनकपुरधाममा आयोजना गरेको धनुषयज्ञमा सहभागी हुन अयोध्याका राजा दशरथका पुत्र राम, लक्ष्मण र गुरु विश्वामित्रलगायतका व्यक्तिहरू मिथिला आएका थिए। त्यही क्रममा राम र सीताको पहिलो भेट गिरिजास्थान (सीमावर्ती क्षेत्र) मा पहिलो भेट भएको थियो। यही मान्यताअनुसार प्रत्येक वर्ष विवाहपञ्चमीको अवसरमा फूलबारीलिला मनाइन्छ।
जानकी मन्दिरले विवाहमण्डपमा आयोजना गरिएको फूलबारीलिला हेर्न ठूलो संख्यामा श्रद्धालुहरूको भिड लागेको थियो। यस अवसरमा विभिन्न प्रकारका मैथिली वैवाहिक गीत, संगीत र नृत्य प्रस्तुत गरिएका थिए।
जनकपुरधाममा आयोजना हुने विभिन्न धार्मिक महोत्सवमध्ये सीताराम विवाहोत्सवलाई सबैभन्दा महत्वपूर्ण ठानिन्छ। विवाहपञ्चमीको अवसरमा जानकी मन्दिरलाई बेहुलीजस्तै सजाइएको छ। विवाहपञ्चमीमा नेपालका साथै भारतबाट समेत ठूलो संख्यामा श्रद्धालुहरू आउने गरेका छन्।
साताव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोटर, छैठौँ दिन स्वयंभर तथा विवाहोत्सव र अन्तिम दिन रामकलेवा अर्थात जन्तिको बिदाइ गरिन्छ।


