काठमाडौँ- तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगर एकताबद्ध भएको नेपाली कम्युनिस्ट पार्टीमा नजाने भएका छन्। जेनजी आन्दोलनपछि बनेको नेकपाबाट परिवर्तन सम्भव नरहेको भन्दै थापा नजाने भएका हुन्।
उनले सामाजिक सन्जालमार्फत क्रान्तिकारी पनि छाडेको बताएका छन्। ‘पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै, विगत १४ वर्षदेखि काम गर्दै आएको संगठन र पार्टीबाट अलग भएको जानकारी यसै स्टेटमेन्टबाट गराउन चाहन्छु ।’ थापाले भनेका छन्।
उनले पछिल्लो समय हेडक्वार्टर भन्दै पार्टी अध्यक्ष (पुष्पकमल दाहाल‘प्रचण्ड’)लाई भ्रममा पार्दै एउटा झुण्डले निच व्यवहार गरेको भनेका छन्। ‘पछिल्लो समय हेडक्वार्टर भन्दै पार्टी अध्यक्षलाई भ्रममा पार्दै एउटा झुण्डले गरेको निच व्यवहारका बीच पनि पार्टीमा सदैव अभिभावकत्व गर्नुहुने आदरणीय दिदीहरु पम्फा भुषाल र जयपुरी घर्ति प्रति विशेष धन्यवाद प्रकट गर्दछु।’ उनले भनेका छन्। थापा लामो समयदेखि जनार्दन शर्मा निकट हुन्।
उनले क्रान्तिकारीको महासचिवमा पनि जनार्दन प्यानलबाटै जितेका हुन्। सोही प्यानलबाट अध्यक्षमा हेमन्त राई पराजित हुँदा महासचिवमा थापाले जित निकालेका थिए।
पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै, विगत १४ वर्षदेखि काम गर्दै आएको संगठन र पार्टीबाट अलग भएको जानकारी यसै स्टेटमेन्टबाट गराउन चाहन्छु । भाद्र २३-२४ गते पछिको परिस्थितिमा, आम नेपाली जनताले मागेको रुपान्तरण, हालै बनेको नेपाली कम्युनिस्ट पार्टीको संरचनाबाट सम्भव छैन भन्ने निष्कर्षमा म पुगेको छु ।
आफ्नो जीवनको उर्जाशील समय १६-३० वर्ष उमेरको दौरान अंगालेको संगठन छोड्नु पक्कै पनि सजिलो निर्णय त रहेन, यद्यपि राजनीतिमा होमिसकेपछी यस्ता निर्णयहरु सामान्य हुन् भन्ने नै बुझ्छु । हैन भने चे ग्वेभाराको जीवनीको किताब भेट्दा तर्सिने माहोल भएको घरबाट अखिल (क्रान्तिकारी) को महासहिव बन्नु सम्भव नै हुँदैनथ्यो होला।
यसै बीच आजको दिन सम्म जे जति राजनैतिक चेतना छ, जे जति सामाजिक पुँजी निर्माण भएको छ, त्यसका लागि म अखिल (क्रान्तिकारी)का सम्पूर्ण अग्रज, मार्गदर्शक र सहकर्मीहरू प्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु । कक्षा समिति सदस्यदेखि ईकाई उपाध्यक्ष, ईकाई अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै, गत माघमा केन्द्रीय महासचिव निर्वाचित हुँदा सम्मको यात्रामा साथ, सहयोग र समर्थन गरिदिनुहुने सम्पुर्णलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु । संगठनमा काम गर्दै गर्दा, २०७३ सालमा पुल्चोक क्याम्पसको स्ववियू सभापतिमा र हालै संगठनको केन्द्रीय महासचिवमा निर्वाचित हुन पाउने अवसर मेरा लागि सबै भन्दा महत्वपूर्ण क्षणहरु मध्ये रह्यो ।
पछिल्लो समय हेडक्वार्टर भन्दै पार्टी अध्यक्षलाई भ्रममा पार्दै एउटा झुण्डले गरेको निच व्यवहारका बीच पनि पार्टीमा सदैव अभिभावकत्व गर्नुहुने आदरणीय दिदीहरु पम्फा भुषाल र जयपुरी घर्ति प्रति विशेष धन्यवाद प्रकट गर्दछु ।
साथै, मेरो कार्यसम्पादनका क्रममा कहीं कतै त्रुटि वा कमी देखिन गएमा सहृदय क्षमा माग्दै, मैले आगामी राजनैतिक यात्रा “प्रगतिशील राष्ट्रिय अभियान” मार्फत अघि बढाउनेछु भन्ने जानकारी गराउन चाहन्छु ।