आ–आफ्नै अडानमा कांग्रेस नेताहरू, जुट्ला त सहमति?

हिमाल प्रेस ३ मंसिर २०८२ २१:४६
20
SHARES
आ–आफ्नै अडानमा कांग्रेस नेताहरू, जुट्ला त सहमति? फाइल तस्बिर

काठमाडौँ- पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ। पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने विषयमा सहमति जुट्न नसक्दा कांग्रेस बैठक पटक–पटक सर्दै आएको छ।

पछिल्लो समय मंसिर १ गतेका लागि बोलाइएको बैठक बिहीबारका लागि सारिएको छ। त्यसअघि कात्तिक २९ गते बोलाइएको बैठक मंसिर १ गते बस्ने भनिएको थियो। पटक–पटक बैठक सार्नुपर्ने मुख्य कारण थियो–महाधिवेशनको मिति तोक्ने सन्दर्भमा कांग्रेसमा उत्पन्न आन्तरिक किचलो।

संस्थापनइतरका नेताहरू चुनावअघि महाधिवेशन गर्नुपर्ने अडान लिएका छन। जबकि संस्थापनपक्षीय पूर्वपदाधिकारी तथा नेताहरू भने फागुन २१ को चुनावपछि मात्रै महाधिवेशनतर्फ जानुपर्ने तर्क गरिरहेका छन्। चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने विवादमा कांग्रेस एक महिनाभन्दा बढी समयदेखि अल्झिएको छ।

जेनजी आन्दोलनलगत्तै असोज २८ गतेदेखि सुरू भएको केन्द्रीय समिति बैठक यही विषयमा केन्द्रित हुँदा पनि समाधान निकाल्न सकेको छैन। नियमित अधिवेशनकै सन्दर्भमा सहमति खोज्न नसकेको कांग्रेसभित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षधरहरू पनि ठूलै संख्यामा देखिएका छन्।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै पार्टी कार्यालयमा प्रस्ताव दर्ता गराइसकेको छन्। कांग्रेसको विधानमै विशेष महाधिवेशनको व्यवस्था छ।
दुई तिहाइ महाधिवेशन प्रतिनिधिले माग गरेको खण्डमा अनिवार्य विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था विधानले गरेको छ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेपछि विशेष महाधिवेशनका सन्दर्भमा नेतृत्व दबाबमा देखिएको छ।

तर, नेताहरू माग भइरहेअनुसार मंसिरमै विशेष महाधिवेशन गर्न सम्भव छैन। विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूलाई पार्टी कार्यालयमा बोलाएर सनाखत गर्नुपर्ने हुन्छ। यो प्रक्रिया एक महिनाभित्र पूरा गर्नु सम्भव नभएकोले मंसिरमा विशेष महाधिवेशनको औचित्य सकिएको उनीहरूको भनाइ छ।

संस्थापनपक्षीय नेताहरू भने चुनाव राष्ट्रिय एजेन्डा भएकाले तत्काल महाधिवेशनलाई थाति राखेर त्यतातिर केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। महाधिवेशन आन्तरिक विषय भएकाले विधानबमोजिम जुनसुकै बेला पनि गर्न सकिने उनीहरूको भनाइ छ।

पूर्वउपसभापति विमलेन्द्र निधि अहिलेको विषम राजनीतिक परिस्थितिमा सम्पूर्ण कांग्रेस एकजुट भएर फागुन २१ को चुनावमा केन्द्रित हुनुपर्ने बताउँछन्। महाधिवेशनपछि चुनावमा जाँदा अन्तर्घात हुनसक्ने उनको भनाइ छ।

‘मुलुक यतिबेला विषम राजनीतिक परिस्थतिबाट गुज्रिरहेको छ, संविधान पनि डिरेल भएको छ। सबैथोक ट्र्याकमा ल्याउन चुनाव महत्वपूर्ण हो,’ उनी भन्छन्,‘महाधिवेशन पार्टीको आन्तरिक विषय भएकोले यसलाई तत्काल रोकेर चुनावमा जानुपर्छ भन्ने हाम्रो भनाइ हो।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित इतर समूहका नेताहरू मंसिरमै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। जेनजी प्रदर्शनले नेतृत्व परिवर्तन गर्नुपर्ने म्यान्डेट दिएको तर्क उनीहरूले गरिरहेका छन्।

जेनजी आन्दोलनलगत्तै विशेष महाधिवेशनको अभियान चलाएका महामन्त्रीद्वय पछिल्लो समय नियमित महाधिवेशनकै पक्षमा बोल्न थालेका छन्, सर्त भने चुनावअघिको छ।

महाधिवेशनको मिति सन्दर्भमा विवाद चर्किँदै गएपछि कांग्रेसका नेताहरू धु्रवीकृत हुनुका साथै समूह परिवर्तनको होडबाजीसमेत चलेको छ। महाधिवेशन विवादकै कारण कतिपय संस्थापनपक्षीय नेताहरू इतर समूहको कित्तामा पुगेका छन्, भने इतरपक्षीय नेताहरू संस्थापनतिर। महाधिवेशनको मिति तोक्ने विवादका कारण पार्टीभित्र अत्याधिक ध्रुवीकरण बढेको नेताहरूले स्वीकार गरेका छन्।

नेताहरू ध्रुवीकृत भएको परिणामस्वरूप केन्द्रीय समिति बैठकमा महाधिवेशनका सन्दर्भमा महामन्त्री र सहमहामन्त्रीको फरक–फरक प्रस्ताव प्रस्तुत भएको छ। महामन्त्री थापाले ल्याएको प्रस्तावलाई ‘काउन्टर’ दिन सहामन्त्री मेहन्द्र यादवले वैशाखमा महाधिवेशन गर्नेगरी प्रस्ताव ल्याएका छन्।

नेताहरूको आ–आफ्नो अडान र महामन्त्री तथा सहमहामन्त्रीको छुट्टाछुट्टै प्रस्ताव आएपछि सहमति खोज्ने भन्दै स्थगित भएको केन्द्रीय समिति बैठक बिहीबार बस्न लागेको हो।

यसबीचमा सहमतिको आधार खोज्न कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय, सहमहामन्त्री तथा पूर्वपदाधिकारीसहित ९ जना नेताले जिम्मेवारी पाएका थिए। तर, जिम्मेवारी पाएका नेताहरूले पनि सहमतिमा पुग्न नसकेको एक नेताले बताए।

‘चुनावअघि कि चुनावपछि भन्ने विवाद अझै टुंगिएको छैन। सहमतिको आधार खोज्ने भनिए पनि टुंगो लाग्न सकेको छैन,’ ती नेताले भने। उनका अनुसार सहमति नजुटे बैठकमा प्रस्तुत भएका दुवै प्रस्तावमाथि मतदान गरेर अन्तिम टुंगो लगाइनेछ।

‘कुनै प्रस्तावमा सहमति नजुट्दा बहुमत÷अल्पमतका आधारमा निर्णय गर्न सकिने व्यवस्था विधानमै छ,’ उनी भन्छन्,‘सहमति जुटे ठीकै छ, नभए अल्पमत बहुमतको विकल्प छँदैछ।’
सहमहामन्त्री यादव सकभर सहमतिमै यो विवाद टुंगिने बताउँछन्। सहमतिको प्रयास जारी रहेको उनले बताए।

प्रकाशित: ३ मंसिर २०८२ २१:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast