बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने

हिमाल प्रेस २ मंसिर २०८२ १२:२९ | Tuesday, November 18, 2025
12
SHARES
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निर्ब्याजी ऋण उपलब्ध गराउने
रसुवा- बागमती प्रदेश सरकारले ग्रामीण क्षेत्रका नागरिकलाई रोजगारी दिलाउन निब्र्याजी ऋण उपलब्ध गराउने भएको छ ।
जिल्ला समन्वय समिति रसुवाले सोमबार आयोजना गरेको दशौँ जिल्ला सभालाई सम्बोधन गर्दै बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले एक घर दुई भैँसी खरिदका लागि सरकारले निर्ब्याजी ऋण रकम उपलब्ध गराउने बताए। उनले सो कार्यक्रममा युवाहरू सहभागी भइदिन आग्रह गरे।
दूध डेरी खोल्न, दाना र मलखादको व्यवस्थापन गर्नसमेत प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनले बताए। जिल्ला समन्वय समिति प्रमुख अशोककुमार घिमिरेको सभापतित्वमा सम्पन्न सभामा जिल्लाका सरकारी कार्यालयको वार्षिक कामको प्रगति प्रस्तुत गरिएको थियो। सहभागीले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक सुधार आयोजनाको कार्यप्रगति प्रस्तुत नगरेकामा आलोचना गरेका थिए।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जिल्लामा बाढीपहिरो जस्ता विपद्का घटना भइरहने र त्यस्ता विपद्को समस्या समाधानका लागि विपद् व्यवस्थापन समितिको बैठक बोलाउँदा सदरमुकामबाहिर कार्यालय रहेका कार्यालय प्रमुखहरुले बेवास्ता गर्ने गरेको बताए।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्र विक्रम सिंह ठकुरीले रसुवा र नुवाकोटको विकासमा हातेमालो गरी जनहितका काम अगाडि बढ्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेसका जिल्ला सभापति पेम्वाछिरिङ तामाङले चिलिमे जलविद्युत्ले जिल्लालाई प्रदान गर्ने रोयल्टी रकमबाट कुनै प्रतिफल नपाएकाले सो रकम खोजी गरी प्रभावित बासिन्दा माझ ल्याउन, पर्यटन प्रवर्द्वन अगाडि बढाउन आग्रह गरे।
 जिल्लामा राम्रो काम गर्ने १० व्यक्ति/संस्थालाई जिल्ला सभाले सम्मानसमेत गरेको छ । सम्मानित हुनेमा नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलान, उत्तरगया गापाका अधिकृतस्तर छैटौँ तहमा कार्यरत रामकृष्ण न्यौपाने, नौकुण्ड गापा-४ का सचिव पूर्णबहादुर बुलुन, आमाछोदिङ्मो गापा-३ का वडा सचिव छोवाङदोर्जे तामाङ, श्रेणीविहीन पदमा कार्यरत जिल्ला समन्वय समितिका जयराम देवकोटा, गोसाइँकुण्ड गाउँपालिकाका नुर्पु घले रहेका छन्भने संस्थातर्फ चिलिमे जलविद्युत् आयोजना र माथिल्लो मैलुङ जलविद्युत् आयोजना रहेका छन्।
प्रकाशित: २ मंसिर २०८२ १२:२९ | Tuesday, November 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast