काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा निर्वाचन गर्न विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी छन्।
सोमबार सिंहदरबारमा नागरिक समाजका अगुवाहरुसँग छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकारले संवादमार्फत विभिन्न दलहरुसँग छलफल गर्दै विश्वासको वातावरण बनाउने काम गरिरहेको बताएकी हुन्। नागरिक समाजले आफ्नो प्रभाव प्रयोग गरी सबै दलहरूलाई प्रक्रियामा फर्काउन सहयोगका निम्ति उनले अपिल गरिन्।
उनले फागुन २१ को निर्वाचन केवल वर्तमान सरकारको राजनीतिक निर्णय वा इच्छा नभई संवैधानिक रिक्तता टार्नका लागि अपरिहार्य राष्ट्रिय दायित्व भएको जिकिर गरिन्। प्रधानमन्त्री कार्कीले निर्वाचनको वैधानिक आधार स्थापित गर्न र लोकतन्त्रलाई सही मार्गमा फर्काउन दृढतापूर्वक सरकारको साथमा उभिन अनुरोध समेत गरिन्।
उनले निर्वाचनलाई कम खर्चिलो र मितव्ययी बनाउन, विगतको भद्दा र अनावश्यक कर्मचारी भर्नासम्बन्धी बदनामी रोक्न कडाइका साथ निगरानी गरिने जानकारी गराएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए। छलफलका क्रममा नागरिक समाजका अगुवाहरुले निर्वाचनका साथै सुशासनलाई समेत केन्द्रमा राखेर अघि बढ्न सुझाव दिएको खरेलले जानकारी दिए।
उनले बुधबार निर्वाचन आयोगमा दर्ता भएका नयाँ तथा पुराना दलसँग निर्वाचन केन्द्रीत छलफल गर्ने तयारी भएको बताए। छलफलमा सहभागी नागरिक अगुवा खगेन्द्र संग्रौलाले प्रधानमन्त्रीले कुनै पनि अवस्थामा तोकिएको समयमा नै निर्वाचन गराउनेमा प्रतिवद्ध देखिएको बताए।
प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुलाई निर्वाचन गर्न सरकार तत्पर रहेको आभाष भएको उनले बताए। छलफलमा इन्द्र अधिकारी, सुबोधराज प्याकुरेल, जेवी विश्वकर्मा, केदारभक्त माथेमा, स्टेला तामाङ, विद्याधर मल्लिक, विजयकान्त कर्ण, गेजा शर्मालगायतको उपस्थिति रहेको थियो।


