सेख हसिनालाई मृत्युदण्डको फैसला

हिमाल प्रेस १ मंसिर २०८२ १४:५९ | Monday, November 17, 2025
20
SHARES
सेख हसिनालाई मृत्युदण्डको फैसला सेख हसिना।

ढाका- बंगलादेशको विशेष न्यायाधीकरण  (ट्राइब्युनल) ले बंगलादेशकी पदच्युत प्रधानमन्त्री सेख हसिनालाई मृत्युदण्डको फैसला सुनाएको छ। उनीमाथि गत वर्षको जनआन्दोलनमा सयौँ मानिसको ज्यान लिएको आरोपसहित मानवताविरुद्धका अपराधमा मुद्दा लागेको थियो। सोही आन्दोलनका कारण उनको १५ वर्षे शासन अन्त्य भएको थियो।

सोमबार राजधानी ढाकामा रहेको न्यायाधीकरणबाट फैसला पढ्ने कार्यक्रम प्रत्यक्ष प्रसारण गरिएको थियो। फैसलाअघि अन्तरिम सरकारले सुरक्षा कडा पारेको थियो। ढाका र देशका अन्य धेरै क्षेत्रमा सैनिक, अर्धसैनिक सीमा सुरक्षा बल र प्रहरी परिचालन गरिएको थियो। हसिनाको आवामी लिग पार्टीले फैसलाविरुद्ध विरोधस्वरूप देशव्यापी बन्दको आह्वान गरेको छ।

भारतमा निर्वासित हसिनालाई अनुपस्थितिमै मुद्दा चलाइएको थियो। उनले न्यायाधीकरणलाई ‘कंगारु कोर्ट’ भनेकी छन्। साथै उनले आफ्ना तर्फबाट राज्यले नियुक्त गरेको वकिलको पनि कडा विरोध गरेकी छन्।

सेख हसिना र अन्य दुई अभियुक्तविरुद्ध अपराध प्रमाणित भएको फैसलामा उल्लेख छ। तत्कालीन गृहमन्त्री असदुज्जामान खानलाई पनि मृत्युदण्ड सुनाइएको छ। तत्कालीन प्रहरी महानिरीक्षक चौधुरी अब्दुल्ला अल–मामुनलाई पाँच वर्ष कैदको सजाय दिइएको छ। तत्कालीन गृहमन्त्री असदुज्जामान पनि हाल भारतमा छन्। अल–मामुन मात्र हिरासतमा छन्।

हसिनाविरुद्ध मृत्युदण्डको घोषणा भएपछि अदालतभित्र र बाहिर खुसीका स्वर सुनिएका थिए। सानो समूहले दोषीलाई फाँसी दिइयोस् भनी नारा लगाइरहेको थियो। अदालतभित्रको ताली केही सेकेन्डसम्म जारी रह्यो। त्यसपछि अदालतले उपस्थित सबैलाई शिष्टाचार पालन गर्न अनुरोध गरेको थियो। एपी/रासस

प्रकाशित: १ मंसिर २०८२ १४:५९ | Monday, November 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast