कारबाहीमा परेका मधेश प्रदेशका पाँच सांसद पुगे सर्वोच्च

हिमाल प्रेस ३० कार्तिक २०८२ १९:४० | Sunday, November 16, 2025
38
SHARES
कारबाहीमा परेका मधेश प्रदेशका पाँच सांसद पुगे सर्वोच्च

जनकपुरधाम– मधेश प्रदेशसभा सचिवालयको कारबाहीमा परेका पाँच जना प्रदेश सांसदहरू सर्वोच्च अदालत पुगेका छन्। लगतार १० वटा बैठकमा अनुपस्थित भएको भन्दै प्रदेशसभा सचिवालयले पदमुक्त गरेको पाँच जना सांसदहरू सर्वोच्च पुगेका हुन्।

लगातार १० वटा बैठकमा अनुपस्थित भएको भन्द्र प्रदेशसभा सचिवालयले जसपा नेपालका मनिष सुमन, सञ्जय यादव, सिंहासनसाह कलवार, सारदा शंकर प्रसाद कलवार र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंहलाई पदमुक्त गरेको थियो। पाँच जना प्रदेशसभा सदस्य पदमुक्त भएको सूचना प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

राजनीतिक पूर्वाग्राहमा प्रदेशसभा सचिवालयका मुख्यसचिव वासुप्रसाद कोइरालालाई दबाब दिएर सभामुख रामचन्द्र मण्डलले पदमुक्त गर्न लगाएको दाबी गर्दै उनीहरूले पद पुनर्वहालीको माग राख्दै रिट दायर गरेका हुन्।

कात्तिक २७ गते सातदलीय गठबन्धनले सभामुख मण्डलमाथि ‘सभामुखले पदअनुकूलको आचरण नगरेको’ प्रस्ताव दर्ता गराउने क्रममा विवाद उत्पन्न भएपछि मुख्यसचिव कोइरालाले लगातार १० बैठकमा अनुपस्थित भएका पाँच सांसदहरू पदमुक्त भएको सूचना प्रकाशित गरेका थिए।

सांसदहरूले पुनर्वहालीको माग गर्दै सभामुख रामचन्द्र मण्डल र प्रदेशसभालाई विपक्षी बनाएर रिट दायर गरेको कारबाहीमा परेका सिंहासन साह कलावारले जानकारी दिएका छन्। कलवारले रिट दायर गरिएको जानकारी गराए पनि सर्वोच्च अदालतले दर्ता हुने प्रक्रियामा राखेको बुझिएको छ।

प्रकाशित: ३० कार्तिक २०८२ १९:४० | Sunday, November 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast