काठमाडौँ- निर्वाचनमा आयोगमा एक सय २२ वटा राजनीतिक दल दर्ता भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।
उनका अनुसार निर्वाचन घोषणाका दिन एक सय २२ वटा राजनीतिक दल दर्ता थियो भने अहिले पनि सोही संख्या दल दर्ता भएका छन्। यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन्।
यसैगरी २८ वटा दल दर्ता प्रक्रियामा रहेको भट्टराईले जानकारी दिए। उनले भने, ‘ती दलका हकमा कानुनबमोजिम कागजपत्र माग्ने र सनाखत गर्ने प्रक्रिया अघि बढेको छ।’
भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो। भट्टराईका अनुसार त्यस दिनसम्म आयोगमा दर्ता भएका दलको संख्या १२२ थियो। आयोगले फागुन २१ गतेका लागि घोषित निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो। सोहीअनुसार आइतबार दल दर्ताका लागि अन्तिम दिन हो।


