देशको आर्थिक अवस्था : विदेशी सञ्चिति बलियो, विप्रेषण र आयातनिर्यात बढ्यो

हिमाल प्रेस ३० कार्तिक २०८२ १२:५३
8
SHARES
देशको आर्थिक अवस्था : विदेशी सञ्चिति बलियो, विप्रेषण र आयातनिर्यात बढ्यो

काठमाडौँ- मुलुकको अर्थतन्त्र स्थिर रहेको संकेत नेपाल राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो त्रैमासिक आर्थिक विवरण (साउनदेखि असोजसम्मको) अनुसार यस्तो संकेत देखिएको हो। विवरणअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फिति १.४७ प्रतिशत रहेको छ, जसले मूल्य स्थिरता कायम रहेको देखाउँछ।

यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.२,९७९ अर्ब ८१ करोड पुगेको छ। यो सञ्चिति करिब १६.४ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। चालु खाता रु.२३७ अर्ब ५९ करोड र शोधनान्तर रु.२६४ अर्ब ३ करोड बचतमा रहेको छ।

यसैगरी विप्रेषण आयमा उल्लेखनीय वृद्धि देखिएको छ। यस वर्षको असोज महिनाको विप्रेषण रु.२०१ अर्ब २२ करोड पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३५.४ प्रतिशत बढी हो।
निर्यात ८९.६ प्रतिशतले र आयात १९.८ प्रतिशतले बढेको छ।

नेपाल सरकारको खर्च रु.३६४ अर्ब ५९ करोड र राजस्व परिचालन रु.२४९ अर्ब ५ करोड रहेको छ। विस्तृत मुद्राप्रदाय यस त्रैमासिकमा ३.२ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप परिचालन ३.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले वृद्धि भएको छ। वार्षिक विन्दुगत आधारमा निक्षेप वृद्धिदर १३.० प्रतिशत र निजी क्षेत्रका कर्जा वृद्धिदर ७.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाबीचको अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.५८ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर १.९१ प्रतिशत छ। वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.८५ प्रतिशत र कर्जा ब्याजदर ७.५० प्रतिशत रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ। विश्लेषकहरूले विदेशी सञ्चिति बलियो हुनु, मुद्रास्फिति न्यून रहनु र विप्रेषण तथा निर्यातआयातमा वृद्धि हुनु आर्थिक स्थिरताको संकेत भएको बताएका छन्।

प्रकाशित: ३० कार्तिक २०८२ १२:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast