‘एमालेसँग अत्तालिएर प्रतिगामी तत्त्वले भदौ २३ र २४ को घटना गराए’

हिमाल प्रेस २९ कार्तिक २०८२ १७:१४ | Saturday, November 15, 2025
12
SHARES
‘एमालेसँग अत्तालिएर प्रतिगामी तत्त्वले भदौ २३ र २४ को घटना गराए’

बुटवल– नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेविरुद्ध षडयन्त्र भइरहेको भन्दै प्रतिकारमा उत्रन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।नेकपा एमाले रुपन्देहीले शनिबार बुटवलमा प्रदर्शन पश्चात गरेको सभालाई सम्बोधन गर्दै विश्वकर्माले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्त्वहरूले एमालेविरुद्ध प्रहार गरेको बताएका हुन्।

उनले सिंगो मुलुक र एमालेविरूद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको समेत बताए।

एमाले पोलिटब्युरो सदस्य लीला गिरीले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने वाध्यता सिर्जना भएको बताए।

युवा संघका पूर्व उपाध्यक्ष राजु गुरुङले जेनजी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमालेका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी सम्पत्तिलगायतमा छानीछानी आगजनी र तोडफोड गरिएको भन्दै अबका दिनमा एमाले र एमालेका नेता कार्यकर्तामाथि कसैले गिद्धे दृष्टि लगाएमा आफूहरू चुप लागेर नबस्ने बताए।

युवा संघका निवर्तमान महासचिव सुमन पुरीले एमालेले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै राष्ट्र राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीका विरूद्ध दृढ भएर उभिने बताए।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे।

लोकतन्त्र र संविधानको रक्षा, संसद पुनर्स्थापना, सर्वपक्षीय सरकार गठन तथा जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डा राखेर एमालेले प्रदर्शन सहित जनसभा गरेको हो। बुटवल राजमार्ग चौराहाबाट सुरु भएको ¥यालीसहितको प्रदर्शन ट्राफिक चोकमा पुगेर जनसभामा परिणत भएको थियो।

प्रदर्शनमा सहभागीहरूले सुशीला कार्की सरकारविरुद्ध नाराबाजी गर्दै संसद पुर्नस्थापनाको माग गरेका थिए।

प्रकाशित: २९ कार्तिक २०८२ १७:१४ | Saturday, November 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast