विवाद बिसाउन मध्यमार्गी उपायको खोजीमा कांग्रेस

धैर्यकान्त दत्त २८ कार्तिक २०८२ २१:३८
20
SHARES
विवाद बिसाउन मध्यमार्गी उपायको खोजीमा कांग्रेस फाइल तस्बिर

काठमाडौँ- पार्टीको १५औँ महाधिवेशन मिति तोक्ने विषय नेपाली कांग्रेसभित्र पेचिलो बन्दै गएको छ। संस्थापनका साथै इतरसमूहका नेताहरू ध्रुवीकृत बन्दै गएपछि महाधिवेशनको मिति तोक्ने विषयमा विवादित बनेको हो।

जेनजी आन्दोलनलगत्तै विशेष महाधिवेशन गर्नुपर्ने माग उठेको कांग्रेसभित्र यतिबेला चुनावअघि वा चुनावपछि १५ औँ महाधिवेशन गर्ने विवाद चर्किएको छ। डा.शेखर कोइरालानिकट गुरुराज घिमिरेलगायतका नेताहरू जेनजी आन्दोलनलगत्तै विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सुरु गरे।

यो अभियानलाई खुलेरै नभए पनि आन्तरिकरूपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समर्थन थियो। जबकि नेता कोइराला भने नियमित महाधिवेशनकै पक्षमा देखिएका थिए। उनी अझै पनि नियमित महाधिवेशन नै गर्नुपर्ने अडानमा छन्।

नियमति महाधिवेशनका लागि दबाब दिन काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्वसभापतिलगायतका नेताहरूले शुक्रबार कोइरालाको सचिवालयमा छलफल गरेका थिए। छलफलमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य दिलेन्द्र बडुलगायतका नेताहरूको उपस्थिति थियो।

आफ्नै समूहका नेताहरू तितरबितर भएपछि विशेष र नियमित महाधिवेशनको विवाद विस्तारै मत्थर हुँदै गएको छ। विशेष महाधिवेशनको विषय ओझेलमा पर्दै गए पनि चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने विवाद भने कांग्रेसमा ज्यूँकात्यूँ छ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको झन्डै एक महिनापछि असोज २८ गते सुरू भएको कांग्रेस केन्द्रीय समिति बैठक अझै जारी छ। तिहार र छठका बेला केही समयका लागि स्थगित भएर सुरु भएको बैठकमा नेताहरू १५औँ महाधिवेशन फागुन २१ को चुनावअघि गर्ने कि त्यसपछि भन्ने विवादमै रूमलिएका छन्। महाधिवेशनको मिति तोक्ने सन्दर्भमा आन्तरिक विवादमा बल्झिएको कांग्रेस चुनावको मिति घोषणा भइसक्दा पनि त्यसतर्फ केन्द्रित हुन सकेको छैन।

चुनावको मिति तोक्ने सन्दर्भमा नेताहरूको आ-आफ्नै तर्क छ। संस्थापनपक्षीय नेताहरू मिति घोषणा भइसकेकाले महाधिवेशनलाई थाती राखेर चुनावमा होमिनुपर्ने तर्क दिएका छन्।

सहमहामन्त्री महेन्द्र यादव अहिलेको विषम् राजनीतिक परिस्थितिमा पार्टीको आन्तरिकभन्दा राष्ट्रिय चुनाव महत्त्वपूर्ण रहेकोले समग्र पार्टी त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउँछन्। अहिलेको व्यवस्था जोगाउन पनि कांग्रेस एकजुट भएर चुनावमा जानुको विकल्प नरहेको उनको भनाइ छ।

‘महाधिवेशनका लागि विधानमै व्यवस्था गरिएको छ, त्यसअनुसार पनि गर्न सकिन्छ। यसअघि जस्तो नलम्ब्याई वैशाखमा महाधिवेशन गर्न सकिन्छ,’ उनले भने, ‘फागुनमा चुनावको घोषणा भइसकेको छ। त्यसका लागि हामीसबै एकजुट भएर लाग्नुको विकल्प छैन। सकारात्मक नतिजाका लागि पनि यतिबेला महाधिवेशनभन्दा चुनावतर्फ केन्द्रित हुन जरूरी छ।’ फागुनमा हुने चुनावलाई मध्यनजर गरी नै आफूले केन्द्रीय समिति बैठकमा वैशाखमा महाधिवेशन सम्पन्न गर्ने गरी प्रस्ताव पेस गरेको उनले बताए।

संस्थापननिकट सहमहामन्त्री यादवले चुनावपछि महाधिवेशन गर्नुपर्ने तर्क गरिरहँदा महामन्त्री गगन थापाले भने चुनावअघि मंसिरमै महाधिवेशन गर्ने गरी प्रस्ताव ल्याएका छन्। केन्द्रीय समिति बैठकमा थापाले पेस गरेको प्रस्तावमा मंसिरमा महाधिवेशन गर्नुपर्ने उल्लेख छ।

महाधिवेशनको मितिका सन्दर्भमा महामन्त्री र सहमहामन्त्रीले फरक-फरक प्रस्ताव ल्याएकै बेला दुवै समूहका नेताहरू पनि ध्रुवीकृत भएका छन्। संस्थापननिकट कतिपय केन्द्रीय सदस्यहरूले मंसिरमै महाधिवेशन गर्नुपर्ने माग राखेका छन्।

उदयशमशेर राणा, राजेन्द्र केसी, डिला संग्रौलालगायतका संस्थापननिकट २५ जना केन्द्रीय सदस्यहरू १५ औँ महाधिवेशन प्रतिनिधिसभा निर्वाचनअघि नै गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। शुक्रबार उनीहरू पार्टी कार्यालय सानेपा पुगेर फागुन २१ गते हुने चुनाव परिणाममुखी बनाउन पार्टीको महाधिवेशन मंसिर १५ भित्रै सुरु गर्नुपर्ने लागयतका माग राखेर ज्ञापनपत्र बुझाएका हुन्।

सहमहामन्त्री यादव भने केन्द्रीय सदस्यहरूले बुझाएको ज्ञापनपत्रलाई सकारात्मक रूपमा लिन्छन्। चुनावलाई परिणामुखी बनाउन मंसिर १५ गते महाधिवेशन सुरु गर्ने प्रस्ताव सकारात्मक रहेको उनको भनाइ छ। ‘उहाँहरूले चुनावलाई परिणामुखी बनाउन मंसिर १५ मा महाधिवेशन सुरु गर्नुपर्छ भनेर भन्नु भएको छ, यो सकारात्मक प्रस्ताव नै हो,’ उनी भन्छन्, ‘मंसिर १५ मा महाधिवेशनको प्रक्रिया सुरु गरेर चुनावपछि अन्त्य गर्न सकिन्छ।’

महामन्त्री थापा भने यही नेतृत्वका साथ चुनावमा जाँदा जनताले नपत्याउने भन्दै त्यसअगावै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। जेनजी आन्दोलनले दिएको म्यान्डेटअनुसार पनि महाधिवेशन गरेर चुनावमा जानुको विकल्प नभएको उनको भनाइ छ। महाधिवेशन नगरी चुनावमा जानु भनेको गल्ती स्वीकार नगरी जनादेश माग्न जानु रहेको थापा बताउँछन्। महाधिवेशन नगरी चुनावमा गए जनताले साथ नदिने उनको भनाइ छ।

‘अधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ, नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ,’ केन्द्रीय समिति बैठकमा उनले भनेका छन्, ‘अधिवेशन नगरी जानु भनेको गल्ती कमजोरी नस्वीकारी जनादेश माग्न जानु हो। यस्तो अवस्थामा जनताले हामीलाई साथ दिँदैन।’ नियमित महाधिवेशनको अध्याय बन्द भएको भन्दै अब विशेष महाधिवेशन हुने थापाको दाबी छ।

‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भने, तपाईँहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो। त्यसैले अब नियमित महाधिवेशनको अध्याय बन्द भयो। अब मंसिर २७ गते विशेष महाधिवेशन हुन्छ,’ उनले भने।

१५औँ महाधिवेशनको मिति तय गर्न पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा नेताहरू विवादमा अल्झिरहँदा कांग्रेसभित्र मध्यमार्गी उपायको खोजी सुरु भएको छ। आसन्न चुनावलाई प्रभावित नगर्ने गरी महाधिवेशनका सन्दर्भमा सहमतिको प्रयास ल्याउने बाटोमा कांग्रेस अगाडि बढेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काका साथै पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहमतिको साझा प्रस्ताव ल्याउनतर्फ जुटेका छन्। शुक्रबार साँझ बसेको अनौपचारिक कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको सन्दर्भमा साझा प्रस्तावमा सहमति जुटाउने निर्णय गरेको छ।

सहमहामन्त्री यादवले महाधिवेशनका सन्दर्भमा केन्द्रीय समिति बैठकमा पेस भएका दुवै प्रस्ताव मान्य हुने गरी सहमतिको प्रस्ताव ल्याउने निर्णय भएको बताए। उनले महाधिवेशन मितिको सन्दर्भमा सहमतिको प्रयास ल्याउने जिम्मा ९ जनालाई दिइएको जानकारी दिए।

यादवका अनुसार बैठकले कार्यवाहक सभापति खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, पूर्वउपसभापति विमलेन्द्र निधि, विजय गच्छदार र प्रकाशमान सिंह तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई सहमतिको प्रस्ताव ल्याउने जिम्मा दिएको हो।

‘कार्यसम्पादनको अनौपचारिक बैठक बसेको थियो। महाधिवेशनको मिति तोक्ने विषयमा घनुभूत छलफल भएको छ,’ सहमहामन्त्री यादवले भने, ‘सानो टिम बनाएर सहमतिको साझा प्रस्ताव ल्याउने कुरा भएको छ। यसका लागि ९ जना नेतालाई जिम्मेवारी दिइएको छ।’

उनले सहमतिको साझा प्रस्ताव ल्याउने जिम्मेवारी पाएका ९ जना नेताहरूको बैठक शनिबार बस्ने जानकारी दिए। यादवले भने, ‘भोलि हामी छलफलमा जुट्दै छौँ। सकभर भोलि नै सहमतिमा पुगेर साझा प्रस्ताव तयार पार्छौँ।’

सहमतिको साझा प्रस्ताव के हुने यसबारे उनले प्रस्ट पारेनन्। ‘हामी आफ्नो प्रस्तावमा अडिग छौँ। चुनावपछि महाधिवेशन हुनुपर्छ भन्ने हाम्रो मान्यता अझै कायम छ,’ उनले भने, ‘महामन्त्रीज्यूको पनि प्रस्ताव आएको छ। अरू पनि धारणाहरू आएका छन्। सबैलाई ‘वीनवीन’ हुने गरी सहमतिको प्रस्ताव ल्याउन छलफलमा जुट्छौँ।’

सहमहामन्त्री यादवले महाधिवेशनका सन्दर्भमा अहिले जेजति विवाद देखिए पनि सहमतिमै टुंगिने दाबी गरे। महाधिवेशनका सन्दर्भमा साझा प्रस्ताव ल्याउनकै लागि शनिबार र आइतबार केन्द्रीय समिति बैठक स्थगित भएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार दिउँसो २ बजे बस्ने बैठक सोमबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए। यो दुई दिनको अवधिमा जिम्मेवारी पाएका नेताहरूले सहमतिको साझा प्रस्ताव तयार पार्ने जनाइएको छ। छलफलमार्फत मध्यमार्गी उपाय निकाल्ने गरी सोमबारको बैठकमा सहमतिको प्रस्ताव पेस गरेर पारित गर्ने तयारी कांग्रेसको छ।

प्रकाशित: २८ कार्तिक २०८२ २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast