काठमाडौँ- लुम्बिनी प्रदेशमा उद्योगको औसत क्षमता उपयोग घटेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१/८२ को लुम्बिनी प्रदेशको वार्षिक प्रतिवेदनका अनुसार झण्डै ६ प्रतिशतले उद्योगको औसत क्षमता उपयोग घटेको हो।
अध्ययनमा समेटिएका २८ उद्योगहरूको समीक्षा वर्षमा औसत क्षमता उपयोग ५०.६० प्रतिशत रहेको छ। गत वर्ष यस्तो क्षमता उपयोग ५६.३६ प्रतिशत थियो।
अध्ययनमा समेटिएका उद्योगहरुमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ८८.६९ प्रतिशत र सबैभन्दा कम ड्राई सिरप उत्पादन गर्ने उद्योगले ८.६४ प्रतिशत क्षमता उपयोग गरेका छन्।
उद्योग विभागका अनुसार २०८२ असार मसान्तसम्ममा लुम्बिनी प्रदेशमा ३ खर्ब २७ अर्ब ५७ करोडको लगानीमा ७५६ वटा उद्योगहरू दर्ता भएका छन्। ती उद्योगहरूले जम्मा ७६ हजार ८० जनालाई रोजगारी प्रदान गरेका छन्।
आर्थिक वर्ष २०८१/८२ मा लुम्बिनी प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा करिब ८ खर्ब ६९ अर्ब रहने प्रारम्भिक अनुमान रहेको छ, जसमा उद्योग क्षेत्रको हिस्सा १४ प्रतिशत रहने प्रारम्भिक अनुमान राष्ट्र बैंकले गरेको छ।
लुम्बिनीमा रहेको बुटवल औद्योगिक क्षेत्रमा ६६ र नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३१ वटा उद्योगहरु सञ्चालनमा रहेका छन्।
बुटवल औद्योगिक क्षेत्रमा ३ वटा उद्योगहरु र नेपालगन्ज औद्योगिक क्षेत्रमा तीन वटा उद्योगहरु बन्द अवस्थामा रहेका छन्। त्यसै गरी, रुपन्देही जिल्लामा रहेको विशेष आर्थिक क्षेत्रमा हाल ११ वटा उद्योगहरू सञ्चालनमा रहेका छन्। दुई वटा सञ्चालन हुने क्रममा छन्।
यस प्रदेशमा थप औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले रुपन्देही जिल्लाको मोतीपुर औद्योगिक क्षेत्र र बाँके जिल्लाको नौवस्ता औद्योगिक क्षेत्रको शिलान्यास भई निर्माण कार्य अगाडि बढेको छ।
लुम्बिनी प्रदेशमा रहेका उद्योगहरुको जिल्लागत हिस्सामा सबैभन्दा धेरै रुपन्देही जिल्लाको ३८.६२ प्रतिशत र सबैभन्दा कम प्यूठान र रोल्पा जिल्लाको ०.४० प्रतिशत रहेको छ।



