दोधारा चाँदनी- भारतमा मजदूरी गरेर परिवारको जोहो गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन्।
मजदूरी गर्दा अनेक दुःख भोगेका राना गाउँमा नै केही गर्ने योजना बनाएर भारत छोडेर स्वदेश फर्किएको बताउँछन्। कुनै वेला भारतमा मजदूरी गर्ने राना अहिले गाउँमा डेरीका मालिक बनेका हुन्। मजदूरी छोडेर मालिक बन्न धेरै मेहनत र संघर्ष गरेको उनी सुनाउँछन्। उनले २०६८ सालदेखि साइकलमा दूध संकलन गरेर बिक्री गर्न सुरु गरेका थिए। दुई लिटर दूधबाट व्यवसाय सुरु गरेको उनी बताउँछन्। ‘दुई लिटर दूधबाट सुरु गरेको थिएँ, बिस्तारै दूध बढी संकलन हुन थाल्यो,’ रानाले भने, ‘अहिले एक हजार पाँच सय लिटर दूध संकलन हुन्छ।’
भारतमा मजदूरी गर्दा साह्रै दुःख खेपेको उनी सुनाउँछन्। त्यही दुःखले घर फर्केर व्यवसाय गर्न सुरु गरेको उनको भनाइ छ। ‘भारतमा मजदूरी गर्दा अनेक दुःख पाइयो, गाउँ फर्किएर साइकलमा दूध बिक्री गर्न थालें,’ उनले भने, ‘यसैबाट कमाएको रकम बचत गरेपछि अहिले आफ्नै डेरी व्यवसायसमेत सञ्चालन गरेको छु।’
सुरुआतमा साइकलमा दूध संकलन गर्दै हिँडेका थिए। पछि आफ्नै डेरी स्थापना गरे। अहिले गाउँगाउँबाट दूध संकलन गरेर रानाले स्थानीय झलारी बजार, अत्तरिया र कैलालीमा बिक्री गर्दै आएका छन्। दूध बोक्न ६ जनालाई काममा लगाएका छन्। उनीहरूले मासिक २० देखि २६ हजार रुपैयाँसम्म तलब पाउँछन्।
व्यवसायबाट रानाले करीब ९० लाख रुपैयाँ बराबरको सम्पत्ति समेत जोडेका छन्। ‘दूध बिक्रीबाट अहिले सबै खर्च कटाएर वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ,’ उनले भने, ‘डेरीबाट एकदमै खुशी छु, अहिले छोरालाई पनि यसै व्यवसायमा लगाएको छु।’
पछिल्लो समय स्वदेशमा रोजगारी नभएको भन्दै थुप्रै युवा विदेश पलायन भइरहेका छन्। विदेशमा गरिने दुःखभन्दा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्दै फर्किनेहरू पनि थुप्रै छन्।
विदेशको जागिर छोडेर आफ्नै गाउँघरमा परिश्रम गरेका रानाको सफलता लोभलाग्दो छ। उनी अहिले समाजमा उदाहरणीय व्यक्ति बनेका छन्। रासस



