जेनजीको माग नेकपाले मात्रै पूरा गर्छ : माधव नेपाल

हिमाल प्रेस २६ कार्तिक २०८२ १८:११
6
SHARES
जेनजीको माग नेकपाले मात्रै पूरा गर्छ : माधव नेपाल

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राजनीतिक क्षेत्रमा देखिएको अपराधीकरण, व्यापारीकरण, दलालीकरण, ठेकेदारीकरण र भ्रष्टीकरणको समस्या सुधार्नु राजनीतिको पहिलो कर्तव्य भएको बताएका छन्।

नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको संगठनात्मक एकीकरणसभालाई आज (बुधबार) सम्बोधन गदै उनले देशमा सुधार ल्याउने हुटहुटी पूरा गर्न आवश्यक संकल्प लिएर अघि बढ्नुपर्ने बताएका हुन्।

सहसंयोजक नेपालले राजनीतिप्रति देखिएको जनताको वितृष्णाका बारेमा समीक्षा गर्नुपर्नेमा जोड दिँदै पार्टी र नेता तथा कार्यकर्ताभित्र झाँगिएको विकृति र विसंगति सुधार गरेर जानुपर्ने बताए। ‘विगत बिर्सियौँ भने पूरानै अवस्था दोहोरिन बेर लाग्दैन’, उनले भने।

नयाँ क्रान्तिकारी संकल्प बोकेको पार्टी निर्माण गर्ने अभियान सुरु भएको जानकारी दिँदै उनले आफूभित्रको कमजोरी सुधार्ने प्रतिबद्धता अहिलेको आवश्यकता भएको बताए।

‘नेकपालाई क्रान्तिकारी चरित्र, देश र जनताप्रति इमान्दार र समर्पित भएका योद्धाको पार्टी बनाउनुपर्छ’, सहसंयोजक नेपालले भने, ‘परिवर्तन यत्तिकै हुनेवाला छैन, यो आफैँबाट सुरु गर्नुपर्छ। अनेक खालका भड्काउबाट मुक्त हुनुपर्छ। जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ।’

पार्टीभित्रको अनुशासन अत्यन्त महत्त्वपूर्ण भएको उल्लेख गर्दै उनले आफूलाई लागेका कुरा कमिटीमा राख्नुपर्ने बताए। जेनजी पुस्ताले व्यवस्था परिर्वतन नभई अवस्था परिवर्तनको माग उठाएको जनाउँदै उनले यस पार्टीले मात्रै जेनजीको आशा र भरोसा पूरा गर्ने दाबी गरे।

प्रकाशित: २६ कार्तिक २०८२ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast