इटहरी- धरानमा ‘निगाले बाघ’ फेला परेको छ। मंगलवार साँझ ७ः३० बजेतिर धरान उपमहानगरपालिका १४ हात्तीसार क्षेत्रमा निगाले बाघ फेला परेको हो। धरान १६ बस्ने १८ वर्षीय युसन राई, १८ वर्षीय सिमन राई र धरान १३ बस्ने १७ वर्षीय अमन लिम्बूले निगाले बाघ फेला पारी प्रहारीम बुझाएका थिए। प्रहरीले वन कार्यालय धरानलाई बुझाएको छ।
पाटेबाघको डम्बरु फेला पारिएको हल्ला भएपनि निगाले बाघको बच्चा फेला पारिएको वन रक्षक लालबहादुर श्रेष्ठले पुष्टि गरे। ‘यो बिरालोकै एक प्रजाति हो। पाटे बाघ भनिएपनि यो निगाले बाघ हो। बिरालो जत्रै हुन्छ,’ उनले भने, ‘यो खासगरी सुनसरीको रामधुनी क्षेत्रमा पाइन्छ । डुल्दैघुम्दै धरानसम्म आइपुगेछ।’
पोथी प्रजातिको उक्त निगाले बाघ डेढ केजीको रहेको उनले बताए। उक्त निगाले बाघलाई संरक्षणका निम्ति निकुञ्जमा पठाउने वा वन क्षेत्रमै छाड्ने भन्नेबारे छलफल भइरहेको उनले बताए। ‘हामीले संरक्षणका लागि निकुञ्जमा पठाउने कि भन्नेबारे छलफल भइरहेको छ,’ उनले थपे।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार बाघकै प्रजाति स्थानीय युवाहरूले भेटेर प्रहरीमा बुझाएपछि आफूहरूले वन कार्यालयलाई बुझाएको बताए। ‘बाटोमा अलमलिएको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएपछि हामीले राति नै वन कार्यालयलाई बुझाएका हौँ,’ उनले भने, ‘यो बाघ नै हो भन्ने अनुमान गरिएको थियो।’
यो जनावर बाघजस्तै देखिन्छ तर आकारमा सानो हुन्छ। तराईका वन क्षेत्रमा पाइन्छ। नेपालमा यी प्रजाति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित जनावरको सूचीमा छ।
निगाले बाघ पूर्वका अधिकांश सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा पाइन्छ। पाटे बाघ कोशी प्रदेशमा हालसम्म रेकर्ड भएको छैन।



