हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा

हिमाल प्रेस २ माघ २०७९ १९:२४ | Monday, January 16, 2023
हवाई दुर्घटनाको क्षति मूल्यांकन गर्न विदेशी टोली नेपालमा

काठमाडौँ– आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाको क्षति मूल्यांकन गर्न बिमा सर्भेयर र कानुन व्यवसायीहरूको टोली नेपाल आइपुगेको छ।

क्षतिग्रस्त सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्नका लागि सर्भेयर टोली सिंगापुर र कानुनी व्यवसायीको टोली भारतबाट सोमबार काठमाडौँ आइपुगेको नेपाल बिमा प्राधिकरणका प्रवक्ता राजु रमण पौडेलले जानकारी दिए। बिमा दलाल (ब्रोकर) का रूपमा रहेको बेलायतको कम्पनीले सिंगापुरबाट सर्भेयर खटाएको उनको भनाइ छ।

दुर्घटनामा परेका यात्रुको बिमा दाबी भुक्तानीका लागि कुनै समस्या नहुने पनि पौडेलले जानकारी दिए। ‘बिमा गरेको कम्पनीले पनि अर्को कम्पनीमा पुनर्बिमा गरेको हुन्छ। पुनर्बिमाबाट पैसा आएपछि बिमा कम्पनीबाट भुक्तानी भइहाल्छ। मृतकको पोस्टमार्टम रिपोर्टका आधारमा बिमा रकम भुक्तानी हुन्छ,’ उनले भने।

सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हवाई दुर्घटनामा परेका यात्रुका परिवारलाई बिमा भुक्तानीका सहजीकरण गर्न निर्देशन दिएको पनि प्रवक्ता पौडेलले जानकारी दिए। बिमा दाबी भुक्तानीबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि चासो राखेको उनको भनाइ छ।

‘राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बिमा भुक्तानीबारे चासो राखेको थियो। बिमा रकम भुक्तानीका लागि पोस्टमार्टम रिपोर्ट चाहिने भएकाले पोखरा र काठमाडौँबाट रिपोर्ट लिन सकिने भनिएको छ। दाबी भुक्तानीमा समस्या नहुने जानकारी हामीले समितिलाई गराएका छौँ,’ प्रवक्ता पौडेलले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार हवाइयात्रुको २० हजार अमेरिकी डलर बराबरको बिमा गरिएको हुन्छ। चालकदलका सदस्यको भने एअरलाइन्स कम्पनीअनुसार फरक-फरक हुने प्राधिकरणले जनाएको छ।

आइतबार दुर्घटनामा परेको यती एअरलाइन्सको हवाइजहाजमा सवार चार जना चालक दल र ६८ जना यात्रु सबैको मृत्यु पुष्टि भइसकेको छ। -राससको सहयोगमा

प्रकाशित: २ माघ २०७९ १९:२४ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast