तस्बिर : विजय नेपाल
पोखरा– पोखरेली माटोमा हुर्किएका नेपथ्य ब्याण्डका अमृत गुरुङको स्वर शुक्रबार राति पोखरा रंगशालामा हजारौँ दर्शकमाझ गुञ्जिएको छ।
जेनजी आन्दोलनले तहसनहस बनेका ऐतिहासिक भौतिक संरचना तथा मुलकको अकर्मण्य राजनीति परिस्थितिबीच गायक गुरुङले सबै नेपालीलाई संगीतको झन्कारसँगै एकसूत्रमा बाँध्ने प्रयत्न गरे।
पोखरा एभेञ्जर्स आयोजनामा संचालित ‘नेपथ्य लाइभ इन कन्सर्ट’ मा गायक गुरुङ आफ्ना कालजयी तथा समसामयिक गीतसँगै लगातार दर्शकको मायामा पोखिए। गायकीका क्रममा उनले बेलाबेलामा दर्शकलाई दिने सुझाव झनै मर्मस्पर्षी थिए।
‘हामी जहिल्यै पनि अन्याय, अत्याचार र भ्रष्टाचारको विरुद्धमा एक भएर उठौँ है। अब सबैलाई नियन्त्रणमा ल्याउन चुनाव आउँदैछ। चुनावमा सबैले नयाँ मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेर कोकोलाई हराउनु पर्ने हो, कोकोलाई जिताउनुपर्ने हो, जिताउनु है,’ यति भन्दै उनले आन्दोलनका सहिदलाई पनि सम्झे।
‘गाउँ गाउँबाट उठ…’ गीतमा दर्शकको अघोरै साथले रंगशाला जुरुक्क उठेको भान हुन्थ्यो।
उनले एकपछि अर्को गरी ‘रेशम…’ ‘रातो र चन्द्रसूर्य, जंगी निसान हाम्रो…’ ‘तालको पानी माछीले खानी…’ लगायत गीत गाइरहे। संगीतकै क्रममा देशविदेश यात्रा भरिसकेका ५८ वर्षे यी गायकले युवाहरुलाई आफ्ना विगतका कहानी सुनाउँदा जोस भर्थे।
‘रातो र चन्द्रसूर्य, जंगी निसान हाम्रो…’ गाइरहँदा उनले भने, ‘सबको मन–मनमा यो रातो र चन्द्रसूर्य झण्डा फरफराइरहोस् है। खेलाडीहरुलाई मैले आह्वान गरेँ–यो झण्डा बोकेर इमान र मेहनतका साथ खेल जितेर आउनुहोस् है। यो झण्डा कहिल्यै पनि झुक्न नदिनू है।’

साथै उनले आफ्नो कलायात्रासँगै उमेर पोखराको सेती र माछापुच्छे«सँग तुलना गरे। भने, ‘यो माछापुच्छ्रे हिमाल जस्ताको तस्तै, सेती बगेको बग्यै छ, आफू भने बुढो भइयो। के गरौँ उमेरले कसैलाई पनि छेक्दैन है। त्यसैले जे गर्न मन छ, उमेरमै, बैँशमै गर्नोस्, पछि पश्चात्ताप नहोस् है।’
कन्सर्टमा करिब ८ हजारसम्म दर्शक आउने आयोजकले अनुमान गरेकोमा करिब ११ हजार दर्शक ओइरिएका थिए। कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले सबैको साथ सहयोगले कार्यक्रम भव्य बनेको प्रतिक्रिया दिए।
आगामी १ मंसिरदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ। एनपीएलको फ्रेन्चाइज क्लब पोखरा एभञ्जर्सले खेलकुदलाई संगीतसँग जोड्ने उद्देश्यका साथ होम ग्राउण्डमा पोखरेलीले औधी रुचाएका गायकलाई उभ्याएको हो।
पोखरा एभेञ्जर्सका अध्यक्ष सुवोध त्रिपाठी आफूहरुले सोचेभन्दा बढी दर्शकको माया र साथ पाएको भन्दै खुसी व्यक्त गरे। भविष्यमा आफूहरुले कार्यक्रम अझ व्यवस्थित र धेरै दर्शक अट्ने गरी गर्न प्रेरणा मिलेको बताए।
पोखरामा विशेषगरी भलिबल, क्रिकेट, फुटबलको क्रेज बढ्दो छ। त्यसैले यहाँ राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता बरोबर हुँदै आएका छन्। सागको बेलामा ठूलो रकम खर्चेर पोखरा रंगशालामा व्यवस्थित प्यारापिmटसहित स्टेडियम निर्माण गरिएको थियो। कतिपयले रंगशालामा कन्सर्ट गरिनुहुन्न भनी टिप्पणी गरिरहँदा खेलकुदको कार्यक्रम भएरै रंगशालामा आयोजना गर्नु उपयुक्त भएको आयोजकको दाबी छ।




