यस्तो छ न्वागी खाने शास्त्रीय परम्परा

विष्णुप्रसाद पोखरेल २२ कार्तिक २०८२ ८:१७ | Saturday, November 8, 2025
92
SHARES
यस्तो छ न्वागी खाने शास्त्रीय परम्परा

नेपाली समाजमा न्वागी खाने चलन छ। यो चलन कृषि जीवनसँग बढी निकट देखिन्छ। नयाँ अन्न भित्र्याइसकेपछि आफ्ना इष्टदेवता, कुलदेवता, पितृदेवतासहितलाई अर्पण गर्नुपर्ने शास्त्रीय विधि पाइन्छ। धान भित्र्याइसकेपछि भने हवन गरेर मात्र न्वागी खाने गरिन्छ।

धान पाकेपछि शुभ साइतमा मुठी लिई पुनः अर्को साइतमा पूजा हवन गरी नवान्नका रूपमा न्वागी खाने चलन छ। पौराणिक कृत्यअनुसार चतुर्मासासम्म पूजा गरिएकी तुलसीको हरिबोधनी एकादशीमा विवाह गरिदिएपछि हवन गरी प्रसादस्वरूप न्वागी खाने गरिन्छ। ठाउँ र समुदायअनुसार न्वागी खाने तरिका भिन्नभिन्न पाइन्छ। न्वागी खाने परम्परा वैदिक यागको उपज हो। ‘कात्यायनश्रौतसूत्रम्’ मा भनिएको छ-

आग्रयणेष्टिः सा च शरदि वसन्ते च कर्तव्या।

वैदिक यागमा पर्ने आग्रयणेष्टि शरद र वसन्त ऋतुमा सम्पन्न गरिन्छ। यो याग न्वागीसँग सम्बन्धित छ। धान र जौ भित्र्याई हविका रूपमा पुरोडाश र चरु तयार गरी सम्बन्धित देवताहरूलाई आहूति दिइसकेपछि अग्न्याधान गरेका आहिताग्निले इष्टि र अनाहिताग्नि उपासकहरूले गृह्योक्त विधिले नवान्नबाट पायस तयार गरी नवान्न प्राशन गर्नुपर्ने विधान रहेको छ। शरद र वसन्त ऋतुमा धान र जौ भित्र्याइसकेपछि हवन गरी नवान्न ग्रहण गर्नुपर्छ।

धान भित्र्याइसकेपछि नयाँ जौ नभित्र्याइन्जेल नयाँ धानको चामलले र जौ भित्र्याइसकेपछि नयाँ धान नभित्र्याउँदासम्म जौको पुरोडाश र चरुले याग गर्नु पर्दछ। नयाँ अन्नबाट इष्टि (याग) यज्ञ सम्पन्न गरिने भएकोले आग्रयणेष्टिलाई नवान्नेष्टि पनि भनिन्छ।

प्रकाशित: २२ कार्तिक २०८२ ८:१७ | Saturday, November 8, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast