काठमाडौँ- नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको चित्रण र विश्लेषण गरिएको ‘चलचित्र पत्रकार’ पुस्तक आज लोकार्पित भएको छ।
चलचित्र पत्रकार संघद्वारा प्रकाशित सो पुस्तकको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डीसी), चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, निर्माता संघका अध्यक्ष नवल खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र नृत्य संघका अध्यक्ष जनक कार्की, चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष समीर बलामी, पूर्वअध्यक्षहरु शान्तिप्रिय, कुवेर गिरी, कलाकार केदार घिमिरे, साहित्यकार डा. नवराज लम्साल, राससका वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायतले सामूहिक रुपमा विमोचन गरेका थिए।
बोर्डका अध्यक्ष डीसीले नेपाली चलचित्रको विकासक्रममा चलचित्र पत्रकारिताको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा खोजी पत्रकारिताले स्थान पाउनुपर्नेमा जोड दिए।
पत्रकार संघका अध्यक्ष बलामीले चलचित्र पत्रकारितालाई शुद्धीकरण र व्यावसायिक तुल्याउँदै नयाँ पुस्तालाई सक्रिय बनाउन लागि परेको बताए। कार्यक्रममा चलचित्र पत्रकारिताका खोजी पत्रकारिताका विषयमा बोर्डका अध्यक्ष डीसी, कलाकार संघ अध्यक्ष निरौला, पत्रकारहरू शान्तिप्रिय, ध्रुव लम्साल र मदन रिजाल र रघुनाथ सापकोटाबीच विचार मन्थन भएको थियो।
छलफलमा चलचित्र पत्रकारहरूले कुनै निश्चित चलचित्रको प्रचारक नभई पत्रकारिताको सिद्धान्त बमोजिम स्वतन्त्र रिपोर्टिङ गर्नुपर्नेमा जोड दिइएको थियो। रासस



