जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा ९ वर्षमा १७ जनाको मृत्यु

हिमाल प्रेस २१ कार्तिक २०८२ १७:०९
6
SHARES
जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा ९ वर्षमा १७ जनाको मृत्यु फाइल तस्बिर।

कञ्चनपुर- कञ्चनपुरमा मानव-वन्यजन्तु द्वन्द्व पछिल्लो समय बढ्दै गएको छ। बितेको ९ वर्षमा कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट तीन महिला र १४ पुरुष गरी १७ जनाको मृत्यु भएको छ।

यहाँस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयको तथ्यांकअनुसार २०७३ सालयता निकुञ्ज, राष्ट्रिय तथा सामुदायिक वन वरपर सो सङ्ख्यामा सर्वसाधारणले ज्यान गुमाएका हुन्।

डिभिजन वन कार्यालय कञ्चनपुरका अधिकृत सोफिया भट्टराईले राष्ट्रिय वन तथा सामुदायिक वन र आसपासका क्षेत्रमा मात्रै नौ वर्षमा आठ जनाले ज्यान गुमाएको बताइन्।हात्तीको आक्रमणबाट दुई जना घाइते भएको तथ्यांकमा उल्लेख छ। ‘मृत्यु भएका प्रतिव्यक्ति १० लाखका दरले मृतकका परिवारलाई क्षतिपूर्ति दिइएको छ’, अधिकृत भट्टराईले भनिन्, ‘घाइतेहरुको प्रकृति हेरेर उपचार खर्च दिने व्यवस्था रहेको छ।’

पछिल्लो समय कञ्चनपुरको भीमदत्त, बेलौरी, बेदकोट, शुक्लाफाँटा नगरपालिका र लालझाडी र बेल्डाँडी गाउँपालिकामा जंगली हात्तीले नोक्सान पुर्‍याउँदै आएका छन्। ज‌ंगली हात्ती बस्ती पस्दा स्थानीय रातभर जाग्राम बस्ने गरेका छन् भने पालिका र सरोकारवाला निकाय हात्ती धवाउन खटिन गरेका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकृत पुरुषोत्तम वाग्लेले हात्तीको आक्रमणबाट यहाँ २०७५ सालयता नौ जनाको मृत्यु भइसकेको जानकारी दिए। ‘यो अवधिमा नौ जनाको मृत्यु, सात गम्भीर र चार जना सामान्य घाइते भएका छन्’, उनले भने, ‘तुलनात्मक रुपमा यो वर्ष विगतको भन्दा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा जंगली हात्तीको आवातजावत बढी देखिएको छ।’

उनले हात्ती धपाउन निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्रीरणसिंह दलगण टोली तयारी अवस्थामा रहने गरेको जानकारी दिए। रासस

प्रकाशित: २१ कार्तिक २०८२ १७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast